Skip to main content

जनकपुरधाम, २९ असार । रुसी वैज्ञानिकहरूले अन्टार्कटिकाको जमेको हिउँमुनि तेलको विशाल भण्डार फेला पारेको दाबी गरेका छन्। उनीहरूको अनुसार वेडेल सागरको मुनि करिब ५११ अर्ब ब्यारेल तेल लुकेको अनुमान गरिएको छ, जुन हालसम्म विश्वमा पत्ता लागेका सबैभन्दा ठूलो तेल भण्डारहरूमध्ये एक हो।

यस खोजले अन्टार्कटिका सन्धि, वैश्विक ऊर्जा सुरक्षासम्बन्धी नीति, र भू–राजनीतिक प्रतिस्पर्धालाई नयाँ उचाइमा पुर्‍याएको छ। विज्ञहरूका अनुसार यो ‘कालो सुन’ को खोजले रूस, अमेरिका, बेलायत, चीन, अर्जेन्टिना र चिलीजस्ता शक्तिशाली राष्ट्रहरूबीच नयाँ तनाव निम्त्याउने संकेत देखिएको छ।

अन्टार्कटिका सन्धि १९५९ मा हस्ताक्षर गरिएको थियो जसले महाद्वीपलाई केवल वैज्ञानिक अनुसन्धान र शान्तिपूर्ण प्रयोजनका लागि मात्र प्रयोग गर्ने व्यवस्था गर्छ। तर रूसी दाबीले यस सन्धिको उल्लङ्घन भएको भन्दै अन्तर्राष्ट्रिय चिन्ता बढाएको छ।

वेडेल सागरस्थित यो क्षेत्र बेलायत, अर्जेन्टिना र चिलीले आ–आफ्नो क्षेत्रीय अधिकार दाबी गरेका छन्। अब रूसको दाबीले यो क्षेत्रीय झगडालाई झनै पेचिलो बनाउने देखिएको छ।

पश्चिमी मुलुकहरूका अनुसार युक्रेन युद्धले रूसलाई एक्ल्याइरहेको अवस्थामा उसले अन्टार्कटिकामा आफ्नो प्रभाव विस्तार गरी भविष्यको ऊर्जा स्रोत सुरक्षित गर्ने रणनीति अपनाएको हुनसक्छ। उता, चीनले पनि पाँचौं अनुसन्धान केन्द्र स्थापना गर्दै अन्टार्कटिकामा आफ्नो उपस्थिति बलियो बनाइरहेको छ।

भूराजनीतिक विश्लेषकहरूका अनुसार यदि रूस र चीनले संयुक्त रूपमा अन्टार्कटिकामा रणनीतिक गतिविधि बढाए, भने सन्धिको वर्तमान संरचना चुनौतीमा पर्न सक्छ। यो अवस्थामा अन्टार्कटिका अब केवल वैज्ञानिक अनुसन्धानको केन्द्र होइन, शक्ति संघर्षको नयाँ मोर्चा बन्ने सम्भावना देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *