सामाजिक फीड-
जनकपुरधाम, असार २५ गते ।
मधेश सरकारको विगतको तुल्नामा अहिलेसम्मकै उच्च बजेट खर्च भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा मधेश सरकारको कुल बजेटको ७१.४८ प्रतिशत खर्च भएको हो ।
यो खर्च परिणाम असार २५ गते मध्यरातिसम्मको अन्ति भुक्तानी विवरण हो । मधेश सरकारले चालु आवका लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको थियो । यसमध्ये ३१ अर्ब ३७ करोड ५२ लाख ४३ हजार रुपैयाँ खर्च भएको छ, जुन कुल बजेटको ७१.४८ प्रतिशत हो ।
पुँजीगततर्फका २८ अर्ब ६१ करोड २० लाख ७४ हजार बजेटमध्ये २१ अर्ब ४९ करोड ७९ लाख ३१ हजार रुपैयाँ खर्च भएको अर्थ सचिव रामकुमार महतोले जानकारी दिए । यो पुँजीगत बजेटको ७५.६४ प्रतिशत हो ।
यस्तै, चालु खर्चतर्फ विनियोजित १५ अर्ब २८ करोड ९६ हजारमध्ये ९ अर्ब ८७ करोड ७३ लाख १२ हजार रुपैयाँ खर्च भएको छ । यो चालु बजेटको ६४.६४ प्रतिशत खर्च हो ।
यो खर्च अघिल्लो आर्थिक वर्षको तुलनामा अहिलेसम्मकै उच्च हो । चालु वर्षमा जम्मा २८.५२ प्रतिशत बजेट मात्र फ्रिज भएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा भने ५५.७५ प्रतिशत बजेट फ्रिज भएको थियो। त्यस वर्ष ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँ बजेटमा २४ अर्ब ५९ करोड ४५ लाख मात्रै खर्च भएको थियो ।
गत वर्ष चालुतर्फको १८ अर्ब ५३ करोड ८८ लाख बजेटमा ९ अर्ब २९ करोड ७० लाख र पुँजीगततर्फको २५ अर्ब ५७ करोड ५७ लाख बजेटमध्ये १५ अर्ब २९ करोड ७५ लाख रुपैयाँ मात्र खर्च भएको थियो।
त्यसअघि आ.व. २०७९।०८० मा ५७.३२ प्रतिशत, आ.व. २०७८।०७९ मा ६३.८३ प्रतिशत, आ.व. २०७७।०७८ मा ६५.४६ प्रतिशत, आ.व. २०७६।०७७ मा ४०.६६ प्रतिशत र आ.व. २०७५।०७६ मा ५१.७५ प्रतिशत मात्र खर्च भएको थियो ।