Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असार २४ गते ।

चीनतिरबाट आएको भीषण बाढीमा रसुवामा १८ जना बेपत्ता भएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ९ जनाको उद्धार गरेको छ ।

सशस्त्र प्रहरी बलका अनुसार, बेपत्ता हुनेमा नेपाल प्रहरी अन्तरगत इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत् प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन् ।

बेपत्ता हुनेमा ६ जना चिनियाँ नागरिक छन् । सशस्त्र प्रहरीबाट उपलब्ध सूची अनुसार, बेपत्ता हुने चिनियाँ नागरिकहरुमा YU YUE, LI HUAQING, YANG CHUAN, YU HAI HANG, YOU XIAO QIU र JOU YONG छन् ।

बेपत्ता हुने नागरिकहरुमा बर्दिया स्थायी घर भएका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बाग्लुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान, हाइलक्स चालक लोकमान तामाङ छन् ।

गएराति आएको बाढीले नेपाल–चीन मितेरी पुल, भन्सारसहितका स्थानमा क्षति गरेको छ । रसुवागढी भन्सार र निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा १ सय भन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान गरिएको छ ।
नेपाल इन्टरमोडल विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार यसरी बगेकामध्ये अधिकांश मालवस्तु बोकेका सवारी साधन छन् ।


इभी गाडी भने केही पर रहेका कारण कम क्षति पुगेको अनुमान गरिएको छ । ‘ठ्याक्कै कति गाडी थिए र क्षतिको विवरणबारे पछि नै खुल्छ, प्रारम्भिक अनुमान अनुसार १ सय भन्दा बढी गाडी बगेको अनुमान गरिएको छ,’ उनले भने ।

यार्डमा २३० वटा सवारी साधन पार्किङ गरेर राखिएको थियो । केही गाडीहरु राति नै माथि सारिएको समेत जानकारी आएको उनले बताए ।

नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीका अनुसार अहिलेसम्म कति वटा गाडी बाढीले बगाएको र कुन कुन ब्राण्डका छन् भन्ने जानकारी आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *