सामाजिक फीड
जनकपुरधाम, असार २१ गते ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशको कार्यालय जनकपुरमा स्थापना गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका–२, भानुचोक नजिकै भाडाको घरमा स्थापना गरिएको कार्यालयको एक समारोहबीच महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिवकुमार साहले उदघाटन गरेका हुन् ।
कार्यालय व्यवस्थापनमा भंगहा नगरपालिकाले फर्निचर, एसी, इन्भर्टर लगायत सामग्री उपलब्ध गराएको छ भने जनकपुरधाम उपमहानगरपालिकाले कम्प्युटर, प्रिन्टर र टेबल–कुर्सी सहयोग गरेको हो । दुई नगरपालिकाको सहयोगमा कार्यालय संचालनमा आउन सम्भव भएको महासंघका प्रदेश महासचिव शैलेन्द्र महतो क्रान्तिले जानकारी दिए ।
प्रमुख अतिथिको रुपमा कार्यालयको उदघाटन गर्दै मेयर साहले सञ्चार क्षेत्रको विकासका लागि काम गर्ने दायित्व स्थानीय सरकारको पनि भएको बताए । उनले पत्रकारहरूले सरकार र समाजका राम्रा पक्ष र कमजोरीहरू तथ्यगत रूपमा उजागर गर्नुपर्नेमा जोड दिँदै पूर्वाग्रही र पित्तपूर्ण पत्रकारिता नगर्न आग्रह गरे । जनकपुरधाम बाहिर कार्यालय स्थापना भए भंगहामा आफूले आमाको नाममा निःशुल्क जग्गा उपलब्ध गराउने समेत घोषणा गर्दै मेयर साहले आगामी दिनमा निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दहालले तत्काल भाडाको घरबाट सुरु हुनु सुखद रहेको बताए । भविष्यमा आफ्नो जग्गामा भव्य भवन बन्ने विश्वास व्यक्त गर्दै उननले प्रदेश समितिलाई केन्द्रको साथसहयोग रहिरहने प्रतिबद्धता व्यक्त गरे ।
महासंघ प्रदेश अध्यक्ष बञ्जाराले भंगहा नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाको सहयोगले कार्यालय व्यवस्थापन सहज भई पत्रकारिता तथा सञ्चार क्षेत्रमा सेवा प्रवाह गर्न थप सहज भएको बताए । आफ्नै भव्य संरचना वनाउन जग्गा प्राप्तिमा लागि रहेको बताउँदै यसै कार्यकालमा आफ्नो सुविधासम्पन्न भवन बन्ने बताए ।
कार्यक्रममा केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, प्रेस स्वतन्त्रता सेनानी रामभरत साह, मधेश प्रदेशका प्रहरी प्रमुख डिआइजी उमा प्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी बलका मधेश प्रदेश प्रमुख डिआइजी कृष्णराज ढकाल, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झा, महासंघका केन्द्रीय सदस्यहरू राजेश कर्ण, सिकेन्द्र पासवान, राजश विश्वकर्माले शुभकामना मन्तव्य राखेका थिए । शुभकामना मन्तव्य राख्नेमा महासंघका सप्तरी जिल्ला अध्यक्ष श्रवण देव, धनुषा जिल्ला अध्यक्ष पुरण साह, बारा जिल्ला अध्यक्ष रमेश सुवेदी, प्रेस युनियनका प्रदेश अध्यक्ष सत्य प्रकाश श्रेष्ठ, प्रेस चौतारीका केन्द्रीय सदस्य प्रविण साह, दलित पत्रकार महासंघका प्रदेश अध्यक्ष कैलास दास लगायत थिए ।