सामाजिक फीड-
जनकपुरधाम, असार १८ गते ।
महोत्तरीको गौशालामा क्रसर माफियाले खनेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका–१०, जलिल टोली निवासी दिनेश मण्डलकी ११ वर्षीया छोरी करिना कुमारी मण्डल रहेको प्रहरीले जनाएको छ ।
आज दिउँसो साढे ४ बजेतिर घर नजिकै रहेको मरहा खोलाको किनारमा गिट्टी–बालुवा खनिएको स्थानमा पानी जमेको खाल्डोमा दुई बालिका नुहाउन गएका थिए ।
पहिले करिना नुहाउन पसेकी थिइन्, तर गहिरो खाल्डोमा परेपछि उनी डुबेकी थिइन् । साथकी अर्की बालिकाले स्थानीयलाई खबर गरेपछि उद्धार गरिए पनि उपचारका लागि बर्दिबास लैजाँदै गर्दा बाटोमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।
घटना भएको स्थानभन्दा करिब दुई सय मिटर टाढा काली बन्दी गिट्टी बालुवा प्रशोधन क्रसर उद्योग सञ्चालनमा छ । अवैध उत्खननबाट बनेको खाल्डो र त्यसमा जमेको पानी नै दुर्घटनाको मुख्य कारण बनेको छ । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।