Samajik Feed – News Portal from Nepal

सामाजक फीड-
जनकपुरधाम, जेठ २८ गते ।

मधेश प्रदेशमा आज सद्गुरु कबीरदासको ६२७ औं प्रकट्य दिवस (जन्म जयन्ती) को अवसरमा सार्वजनिक बिदा दिइएको छ । सद्गुरुको सम्मानमा मधेश सरकारले पहिलोपटक सार्वजनिक बिदा घोषणा गरेको हो ।

यस ऐतिहासिक निर्णयप्रति प्रसन्नता व्यक्त गर्दै कबीरपन्थी समुदायले प्रकट्य जयन्तीको पूर्वसन्ध्यामा जनकपुरधाममा भव्य र्‍याली निकालेका थिए । सद्गुरु कबीर बालबात्सल्य आश्रमका संचालक सत्यनारायण आलोकको नेतृत्वमा निकालिएको उक्त र्‍यालीले जनकपुरका विभिन्न भाग परिक्रमा गरेको थियो ।

कार्यक्रमका अवसरमा प्रदेश सरकारका प्रतिनिधिका रूपमा उपस्थित वन तथा वातावरण मन्त्री संजयकुमार यादवलाई कबीरपन्थीहरुले विशेष सम्मानसमेत प्रदान गरेका थिए ।

आजको दिन पनि कबीरपन्थीहरुले सद्गुरुको शिक्षालाई स्मरण गर्दै विविध कार्यक्रमहरू आयोजना गरी प्रकट्य दिवस मनाइरहेका छन् ।

‘कबीर सागर’ अनुसार, सद्गुरु कबीर साहेबको अवतरण सन् १३९८ ९संवत १४५५० मा जेठ महिनाको पूर्णिमा दिन ब्रह्ममुहूर्तको समयमा लहरतारा तालमा फुलेको कमलको फूलबाट भएको मानिन्छ । त्यसबेला नीरु र नीमा नामक साधारण जुलाहा दम्पतीले उनलाई घर लगेका थिए। यसै कारण, उनका अनुयायीहरूले यो दिनलाई ‘प्रकट्य दिवस’का रूपमा मनाउने गर्छन् ।

१५औँ शताब्दीका भक्ति कालका निर्गुण शाखाका अग्रणी कवि कबीरदासले हिन्दू, मुस्लिम दुवै समुदायका अन्धविश्वास, सामाजिक कुरीति र धार्मिक आडम्बरको कठोर आलोचना गरेका थिए । उनका दोहा, साखी र रचनाहरूले हिन्दी भक्ति आन्दोलनलाई गहिरो प्रभाव पारेका छन् ।

कबीरको विचारधारामा आधारित कबीर पन्थ सम्प्रदाय आज पनि भारत, नेपाल लगायतका देशहरूमा सक्रिय रूपमा फैलिएको छ। उनका अनुयायीहरू उनीलाई सद्गुरुको रूपमा श्रद्धापूर्वक स्मरण गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *