सामाजिक फीड-
जनकपुरधाम, जेठ २७ गते ।
नेकपा एमाले मधेश प्रदेश संसदीय दलका उपनेता दिपेन्द्र ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको औरही गाउँपालिकाको १५ शय्या अस्पताल भवन निर्माणमा अनियमितताको आरोपसहित मंगलबार विशेष अदालतमा ठाकुरसहितमाथि मुद्दा दायर गरेको हो ।
ठाकुर लुम्बिनी÷डि. एण्ड एन. जे.भी तथा डि.एण्ड एन. बिल्डर्स प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक हुन् । उनको यो कम्पनीले अर्थिक वर्ष २०७७।०७८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय संघ सरकारको स्वीकृत कार्यक्रम १५ शय्या अस्पताल निर्माणको बोलपत्र मार्फत ठेक्का लिएको थियो ।
ठाकुरसँगै औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रहमदेव यादव, तत्कालीन उपाध्यक्ष मीरा देवी सहनी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुवोध कुमार ठाकुरलाई अख्तियारले प्रतिवादी बनाएको छ । ६ करोड ७९ लाख १२ हजार ३८३ विगोसहित मुद्दा दायर गरिएका हो ।
यस्तै पालिकाको तत्कालीन ६ वटै वडाका वडाध्याक्षमाथि मुद्दा दायर गरेको छ । वडा नं. १ का वडा अध्यक्ष आशेश्वर यादव, वडा नं.२ का तत्कालीन वडा अध्यक्ष अमित कुमार यादव, वडा नं. ३ का वडा अध्यक्ष गंगा प्रसाद यादव, वडा नं. ४ का तत्कालीन वडा अध्यक्ष शिवनाथ साह, वडा नं. ५ तत्कालीन प्रमेश्चर कुमार मण्डल र वडा न.६ का तत्कालीन वडा अध्यक्ष दिलिप कुमार साहमाथि पनि मुद्दा अभियोजन गरिएको छ ।
यस्तै पालिकाका तत्कालीन ईन्जिनियर सोनु साह, तत्कालीन सव–ईन्जिनियर सन्तोष कुमार मण्डल, तत्कालीन सव–ईन्जिनियर बिनित कुमार साह, तत्कालीन खरिदार मोहन कुमार मण्डल र मनोज कुमार यादवमाथि समेत अख्तियारले मुद्दा दायर गरेको हो ।
धनुषा निर्वाचन क्षेत्र नं. ३ (ख)बाट निर्वाचित ठाकुर पूर्व निर्माण व्यवसायी हुन् । गत निर्वाचनमा उनी एमालेमा प्रवेश गरी चुनाव लडेका थिए । भ्रष्टाचार मुद्दा दायर भएपछि उनी स्वतः प्रदेश सांसदको पदबाट निलम्बित भएका छन् ।