Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, जेठ २६ गते ।

सरकारी रकमको दुरुपयोग गरी सूचना नै नछापी नक्कली कागजातका आधारमा भुक्तानी दिएको आरोपमा तीनपत्रकारसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादव र सहलेखापाल नवीनकुमार यादव र अन्य तीन पत्रकारसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
कार्यालयले २०७८÷७९ आर्थिक वर्षमा किसानका लागि स्प्रे ट्यांकी खरिद गर्ने कार्यमा नक्कली प्रक्रिया अपनाएको अख्तियारको आरोप छ ।

नगरपालिकाले बोलपत्र सूचना ‘जनसवाल दैनिक’ र ‘तराई पोस्ट दैनिक’ पत्रिकामा प्रकाशित भएको देखाएर कागज बनायो र सोही आधारमा विज्ञापन खर्च भुक्तानी गरियो। तर, अख्तियारले प्रेस काउन्सिल नेपालमार्फत अनुसन्धान गर्दा ती मितिमा सूचना नै नछापिएको प्रमाण भेटिएको छ ।

सूचना प्रकाशनबिना नक्कली बिलका आधारमा रकम भुक्तानी दिइएकाले अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

यस प्रकरणमा संलग्न सरकारी कर्मचारी, पत्रकार र प्रकाशकलाई प्रतिवादी बनाइएको छ। शम्भुकुमार यादव र नवीनकुमार यादवमाथि जनही २ लाख १२ हजार २२५ रुपैयाँ भ्रष्टाचार गरेको दाबी गरिएको छ ।

त्यस्तै, ’तराई पोस्ट’का प्रतिनिधि ओमप्रकाश यादवमाथि पनि त्यति नै बिगो, ’जनसवाल दैनिक’का सम्पादक रामजी बगालेमाथि १ लाख ७२ हजार ८२५ रुपैयाँ र ’तराई पोस्ट’का प्रकाशक रुपेन्द्र पटेलमाथि ३९ हजार ४०० रुपैयाँ बिगो कायम गरी मुद्दा चलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *