सामाजिक फीड-
जनकपुरधाम, जेठ १८ गते ।
झण्डै अढाइ वर्षदेखि नियमितरूपमा सञ्चालन हुँदै आएको जयनगर–जनकपुर–बिजलपुरा रेल सेवा मर्मत सम्भारका लागि भारतको लखनऊ पठाइएको छ।
नेपाली रेल मर्मतका क्रममा यात्रु सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले भारतले सहयोगस्वरूप ६ बोगीयुक्त डिजेल–इलेक्ट्रिक मल्टिपल युनिट (DEMU) रेल नेपाल रेल्वे कम्पनीलाई उपलब्ध गराएको छ।
सो रेल डिजेल र विद्युत दुवैबाट सञ्चालन गर्न मिल्ने प्रकारको हो। अहिले उक्त भारतीय रेलमार्फतै सो रुटमा सेवा सञ्चालन भइरहेको छ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिएअनुसार नेपाली रेल भारत सरकारकै सहयोगमा मर्मत हुँदैछ। झण्डै पाँच वर्षअघि नेपाल सरकारले भारतीय रेल्वे कम्पनी कोङकण कर्पोरेसनमार्फत ८४ करोड ६५ लाख रुपैयाँमा उक्त रेल खरिद गरेको थियो।
भारतले प्रदान गरेको नयाँ रेलमा ६ वटा बोगी छन्, जसमा नेपालका आफ्ना रेलभन्दा बढी यात्रु अटाउने क्षमता रहेको झाको भनाइ छ। ‘यस रेलमा सिट संख्या धेरै छ। एक पटकमा १५ सय यात्रु यात्रा गर्न सक्छन्, जबकि हाम्रा रेलमा अधिकतम १३ सय यात्रु अटाउँथे,’ उनले भने ।
यसअघि पनि भारत सरकारले नेपाल रेल्वे कम्पनीलाई ट्र्याक मर्मतका लागि २० करोड भारतीय रुपैयाँ बराबरको सहयोग गरेको जानकारी पनि महाप्रबन्धक झाले दिएका छन् ।