सामाजिक फीड-
जनकपुरधाम, जेठ १६ गते ।
जनकपुरमा पित्तथैलीको शल्यक्रियापछि चार महिनादेखि बेहोस अवस्थामा रहेकी सर्लाहीको हरिपुर्वा नगरपालिका–५ की २५ वर्षीया पविता यादवको निधन भएको छ । साढे ३ महिनादेखि काठमाडौंस्थित केएमसी अस्पतालको भेन्टिलेटरमा उपचाररत पविताको आज बिहान ७ बजे मृत्यु भएको हो ।
गौशाला प्रहरी वृत्तमा कार्यरत प्रहरी हवल्दार बेदनाथ पौडेलका अनुसार अस्पतालले आज बिहान पविताको मृत्यु भएको जानकारी गराएको हो ।
पविताका पति अंगेश यादवलाई अस्पतालले बिहानै फोनमार्फत जानकारी गराएको थियो । आर्थिक अवस्था कमजोर भएका कारण अंगेश केही समयदेखि अस्पतालबाट फर्किएका थिए । कुरुवा बसेपछि खाजा र खान खानसमेत नसकेको र फार्मेसी र अस्पताल प्रशासनबाट दबाब आउन थालेपछि अंगेश घर फर्किएका थिए । उनका दुई सन्तान छ ।
अंगेशले शव बुझ्नका लागि प्रहरीको फोन आएको तर काठमाडौं जान गाडी भाडा समेत नभएको बताएका छन् । उनले भने, “प्रहरीले शव बुझ्न आउन भनेका छन् तर मसँग भाडा छैन, उपचार खर्च तिर्ने उपाय पनि छैन।”
पविताको पित्तथैली शल्यक्रिया माघ ३ गते जनकपुरधाम–१४ स्थित पिडारीचोकमा अवैध रूपमा सञ्चालित मुस्कान अस्पतालमा गरिएको थियो । उनका पिता ब्रह्मदेव यादवका अनुसार सूर्या अल्ट्रासाउन्डका सञ्चालक सुशील यादवको दबाबमा त्यहाँ शल्यक्रिया गरिएको थियो । सरकारी सेवा गरिरहेका हेल्थ असिस्टेन्ट कमल राइन सल्लाहकारका रूपमा सक्रिय रहेर श्रीमतीको नाममा खोलिएको सो अस्पताल कुनै सरकारी अनुमति विना सञ्चालित रहेको खुलेको छ।
पविताको शल्यक्रिया डा. ज्ञानकुमार साहले गरेका थिए । तर, शल्यक्रियापछि तीन दिनसम्म होस नफर्केपछि डाक्टरले स्नायु प्रणालीमा समस्या भएको भन्दै सिटीस्क्यान गराउन सल्लाह दिएका थिए । सिटीस्क्यान रिपोर्ट लिएर फर्किँदा सो सम्बन्धी विशेषज्ञ नभएकाले पवितालाई माघ ६ गते जानकी हेल्थकेयरमा र त्यसपछि माघ २९ गते काठमाडौंको केएमसी अस्पतालमा भर्ना गरिएको थियो।
पविताको निधनपछि उनका पति अंगेश दोषी अस्पताल र चिकित्सकमाथि कारबाहीको माग गर्दै संघर्षरत्त छ । तर नत उपचार खर्च पाएका छन् , नत कसैमाथि कारबाही भएको छ । उनले अस्पतालको उपचार खर्च र शव व्यवस्थापनमा सहयोगका लागि उनले सबै पक्षसँग सहयोगको आग्रह गरेका छन् ।