सामाजिक फीड-
जनकपुरधाम, जेठ १३ गते ।
सिरहाको नवराजपुर गाउँपालिकाका पूर्व अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलगायत १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
मंगलबार आयोगले विशेष अदालतमा गाउँपालिकाका पूर्व अध्यक्ष विश्वमोहनप्रसाद यादव, पूर्व उपाध्यक्ष शोभा कुमारी, तत्कालीन प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित इन्जिनियर कृष्णा साह, सबइन्जिनियर जयनारायण यादव, लेखापाल सोमप्रसाद आचार्य, वडा नम्बर ४ का तत्कालीन अध्यक्ष मदन यादव, वडा नम्बर ५ का अध्यक्ष मनोजकुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि, जिन्सी प्रमुख संजयप्रसाद यादवविरुद्ध मुद्दा दायर गरेको हो।
भ्रष्टाचारको आरोप उपभोक्ता समितिमार्फत निर्माण गरिएको ३७ लाख ७५ हजार ४३६ रुपैयाँ लागतको भवनसँग सम्बन्धित छ। २०७७ साल जेठ ३२ गते सम्झौता भई १५ असारभित्र निर्माण सम्पन्न गर्ने गरी गरिएको उक्त परियोजनामा अनियमितता भएको अख्तियारको दाबी छ।
अख्तियारका अनुसार गलत प्राविधिक मूल्यांकनका आधारमा उपभोक्ता समितिलाई ३४ लाख ३९ हजार १८९ रुपैयाँ भुक्तानी गरिएको पाइएको छ। अहिले सो भवन उपयोगविहीन रहेको समेत उल्लेख गरिएको छ।
यस प्रकरणमा भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र यादव, सचिव दीपेन्द्रकुमार यादव र कोषाध्यक्ष कोशीला देवी यादवसमेत मुछिएका छन्।
अख्तियारले प्रशासकीय भवन निर्माणका क्रममा डीपीआर तयारीदेखि भुक्तानी प्रक्रियासम्म नियमविपरीत काम गरी गुणस्तरहीन निर्माण गरिएको ठहर गरेको छ।