सामाजिक फीड-
जनकपुधराम, जेठ ११ गते ।
सप्तरीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । अन्य एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ जमुनि मध्येपुरा बस्ने वीरेन्द्र यादवका १९ वर्षीय छोरा सन्तोष यादव र सोही गाउँपालिका–२ बस्ने बिहारी मण्डलका २२ वर्षीय छोरा सागर मण्डल छन् ।
सप्तरीका प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतका अनुसार हुला हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेखपुरमा इँटा बोकेर राजविराज तर्फ जाँदै गरेको स १त ५४४२ नम्बरको ट्र्याक्टर विपरीत दिशाबाट आइरहेको मप्र०२–०१९ प ९६२६ नंको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो ।
मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको ज्यान गएको हो । दुवै जनालाई उपचारका लागि लगेकामा एक जनाको बाटोमै र अर्काको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ट्र्याक्टर चालक फरार छन् । घाइते विष्णुपुर गाउँपालिका–१ जमुनि मध्येपुराका १८ वर्षीय धनञ्जय यादवलाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।