सामाजिक फीड-
जनकपुरधाम, जेठ ८ गते ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका–५ बनिनियाका हरिराम यादवले आफ्नी आठ महिनाकी गर्भवती श्रीमती अञ्जली यादवको हत्या गरेको खुलेको छ । उनलाई धनुषा प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
प्रहरीका अनुसार लागूऔषधमा लत परेका हरिरामले नशाको अवस्थामा श्रीमतीसँगको विवादका क्रममा कुटपिट गरी हत्या गरेका हुन् । २५ वर्षीया अञ्जली दुईजिउकी थिइन् । उनको १० महिने छोरी पनि थियो । अञ्जलीको हत्यापछि शव घरको पूजा कोठामा गाडिएको अवस्थामा फागुन १७ गते फेला परेको थियो ।
एक अनुसन्धान अधिकृतका अनुसार हरिरामले प्रारम्भिक बयानमा राति विवाद हुँदा पेटमा बलपूर्वक प्रहार गरेका र त्यसकै कारण अञ्जलीको मृत्यु भएको स्वीकारेका छन् । उनले शव लुकाउन माटोमा गाडेको बयान दिएका छन् ।
घटनापछि हरिराम तीन–चार दिनसम्म घरमै बसेर पछि फरार भएका थिए । प्रहरीले लामो समय खोज अनुसन्धानपछि उनलाई धनुषाको जनकनन्दनी गाउँपालिका–४, खजुरीस्थित रेल्वे स्टेशनबाट बिहीबार बिहान ९ बजे पक्राउ गरेको हो ।
तर १० महिने छोरीको अवस्था अझै अज्ञात छ । प्रहरीले हरिरामको दोधारे बयानका कारण छोरीको अवस्थाबारे निश्चित निष्कर्ष निकाल्न सकेको छैन ।
अनुसन्धान अधिकारीका अनुसार हरिरामले कहिले छोरीलाई गाउँको छेउमा रहेको नालामा फालेको त कहिले सँगै लगेको भन्ने जस्ता फरक बयान दिएका छन् । यसले घटनामा गम्भीर शंका उत्पन्न भएको छ ।
घरमा कोही नभएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ताल्चा फोरेर गरिएको खोजतलासमा पूजा कोठामा हालै मात्र सिमेन्टले ढलान गरिएको भाग उत्खनन गर्दा अञ्जलीको शव सडेगलेको अवस्थामा फेला परेको थियो ।
पक्राउ परेका हरिराममाथि जिल्ला अदालत धनुषाबाट म्याद थप गरेर अनुसन्धान जारी रहेको र १० महिने छोरीको अवस्थाबारे खोजी कार्य तीव्र पारिएको प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिए ।
उनले भने, ‘छोरी कुन अवस्थामा छ भन्ने विषयमा अझै पुष्टि हुन बाँकी छ। हामी अनुसन्धानमै छौं, अहिले केही निश्चित भन्न सकिने अवस्था छैन ।’