सामाजिक फीड-
जनकपुरधाम, जेठ ७ गते
पित्तथैलीको शल्यक्रियापछि चार महिनादेखि अचेत अवस्थामा रहेकी २५ वर्षीया पविता यादवको परिवारले जनकपुरधामस्थित मुस्कान अस्पतालसहित पाँच जनाविरुद्ध जाहेरी दिएका छन् । सर्लाहीको हरिपुर्वा नगरपालिका–५ की पविताका बुबा ब्रह्मदेव यादवले जेठ १ गते जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता विनाको मुस्कान अस्पताल, त्यसका सञ्चालक, शल्यक्रिया गर्ने चिकित्सक डा. ज्ञानकुमार साह, एनएस थेसिया र सूर्या अल्ट्रासाउण्डका सञ्चालक सुशील यादवविरुद्ध जाहेरी दिएका हुन् ।
जाहेरी अनुसार, माघ ३ गते मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रिया गरेपछि पवितालाई हालसम्म होस आएको छैन । उनको तीन महिनादेखि काठमाडौंको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
पेट दुखेपछि जनकपुरको सूर्या अल्ट्रासाउण्डमा जाँच गराउन आएकी पविताको पित्त थैलीमा पत्थरी देखिएको थियो । अल्ट्रासाउण्डका सञ्चालक सुशील यादवले ललाइफकाइ दर्ताविनाको मुस्कान अस्पतालमा शल्यक्रियाका लागि पु¥याएका थिए ।
शल्यक्रियापछि पवितालाई भेन्टिलेटरमा राखिएको र चिकित्सकले अवस्था सामान्य रहेको भन्दै ढाडस दिएका थिए । तर, तीन दिनपछि सिटी स्क्यान गराउन भनिए पनि त्यसको रिपोर्ट पढ्ने चिकित्सक नभएको जवाफ डा. साहले दिएपछि परिवारले लापरवाही भएको आशंका गरेका हुन् । त्यसपछि पवितालाई जानकी हेल्थ केयर हुँदै माघ २९ गते काठमाडौंस्थित केएमसी अस्पताल लगिएको थियो । उनी हालसम्म अचेत अवस्थामा छिन् ।
बुबा ब्रह्मदेव यादवका अनुसार, उपचारमा झण्डै ३० लाख रुपैयाँ खर्च भइसकेको छ । जाहेरीमा हालसम्मको ३० लाख तिर्नुपर्ने, दोषीहरूमाथि कारबाही र थप उपचारको जिम्मेवारी लिनु पर्ने माग गरिएको छ।
मंगलबार पविताका बुबा, श्रीमान अंगेश यादव र आफन्त विरेन्द्र अधिकारी जिल्ला प्रहरी कार्यालय पुगेर कारबाहीको माग गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, जाहेरीका आधारमा अनुसन्धान भइरहेको छ । उपचारसँग सम्बन्धित विषय भएकाले मेडिकल काउन्सिललाई पत्र पठाउने वा प्रहरीले नै अनुसन्धान अघि बढाउने विषयमा छलफल भइरहेको जनाएको छ ।
पविताका बुबा ब्रह्मदेव यादवले घटनाको दिनदेखि पटक–पटक उजुरी गरे पनि अहिलेसम्म दोषीमाथि कुनै कारबाही नभएको गुनासो गरेका छन् । ुछोरी अझै होसमा आएकी छैनिन्, उपचार गराउने पैसा सकिएको छ। यति गम्भीर घटनामा पनि दोषी खुलेआम छन्,” उनले दुखेसो पोखे।
धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले यो संवेदनशील र जटिल प्रकृतिको घटना भएकाले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको जानकारीमा रहेकाले उनीसित सल्लाह लिएर आवश्यक कारबाही अघि बढाइने बताए ।