Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, जेठ ४ गते ।

सिरहाका विभिन्न स्थानबाट प्रहरीले ठूलो परिमाणको नगद रकम र लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले आइतबार पत्रकार सम्मेलन गरी पाँचजनालाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार लहान नगरपालिका–२२ लवटोलीबाट दाजु–बहिनीसहित दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा २६ वर्षीया किरणकुमारी यादव र उनका ३२ वर्षीय दाजु दिनेशकुमार यादव रहेका छन्। उनीहरूलाई को ५ प ६९२७ नम्बरको पल्सर मोटरसाइकलमा सवार रहँदा चेकजाँचका क्रममा पक्राउ गरिएको हो ।

शुक्रबार साँझ ७ बजे चेकजाँच गर्दा उनीहरूको साथबाट २२.९० ग्राम ब्राउन सुगर र नगद ५१ हजार ४५० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । त्यसपछिको घर खानतलासीमा थप १ सय ८० ग्राम ब्राउन सुगर, ५४ लाख १४ हजार २ सय ८५ नेपाली रुपैयाँ र ३५ हजार ७८० भारतीय रुपैयाँसहित एक थान डिजिटल तराजु र ६ थान मोबाइलसमेत बरामद गरिएको छ ।

प्रहरीका अनुसार दुवै जना लागूऔषध कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । दिनेशकुमार यसअघि २०७९ साउन ३ गते ३.६ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए र ६ महिना जेल सजाय काटी २०८० माघ ५ गते मात्र छुटेका थिए।

यस्तै, सिरहा नगरपालिका–१७ का ४५ वर्षीय सञ्जय कारकलाई स्रोत नखुलेको १६ लाख ३८ हजार ३ सय ७० रुपैयाँसहित पक्राउ गरिएको छ। हुण्डी कारोबारमा संलग्न रहेको सूचनाका आधारमा शनिबार दिउँसो सिरहा–२ स्थित महावीर चोकबाट उनलाई नियन्त्रणमा लिएको हो ।

सिरहाकै औरही गाउँपालिका–३ का २० वर्षीय कृष्णकुमार यादव र १९ वर्षीय निरज रायलाई पनि प्रहरीले ७१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । दुवै जनालाई बरियारपट्टी गाउँपालिका–३ बाट शनिबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले यी सबै घटनाहरूलाई थप अनुसन्धानका लागि प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *