सामाजिक फीड-
जनकपुरधाम, जेठ २ गते।
जनकपुर प्रादेशिक अस्पतालमा मुटुरोगको अत्याधुनिक उपचारका लागि आवश्यक ‘क्याथ ल्याब’ सेवा अब नियमित रूपमा सञ्चालनमा आएको छ।
अस्पतालका निर्देशक डा. जामुन प्रसाद सिंहका अनुसार क्याथ ल्याबमार्फत अन्जियोग्राफी, एञ्जियोप्लास्टी, कार्डियाक पेसमेकरलगायत मुटुसम्बन्धी अत्यावश्यक सेवा नियमित रूपमा प्रदान गरिन थालेको छ। उनले यो सेवा प्रदेश सरकारको सहयोगमा सुरु गरिएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन्।
वि.सं. २०७७/७८ मा नै क्याथ ल्याब उपकरण खरिद भए पनि जनशक्तिको अभावका कारण सेवा सुरु हुन सकेको थिएन। डा. पण्डितको निर्देशनमा पहिलोपटक परीक्षणरूपमा सञ्चालन गरिए पनि जनशक्ति अभावले नियमितता आउन सकेको थिएन। पछिल्लो समय गंगालाल हृदय केन्द्र जनकपुर शाखा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत आएपछि त्यहाँका विशेषज्ञ चिकित्सक र अस्पतालकै चिकित्सक समायोजन गरी सेवा स्थायी रूपमा सुरु गरिएको हो।
अबदेखि मुटुरोग विशेषज्ञ डा. राजेश साह, डा. निश्चल साहसहितको टोलीले क्याथ ल्याबमार्फत हृदयघातलगायत जटिल मुटु समस्याको उपचार गर्नेछन्।