Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, जेठ १ गते ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनामाथि भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत रामकिशुन यादव, इन्जिनियर कुलानन्द बिराजी र रामाकान्त चौधरी, सव–इन्जिनियर संजय कुमार यादव, योजना शाखाका शाखा अधिकृत विनोद कुमार ठाकुर, सहायकस्तर पाँचौकी निकिता चौधरी, लेखापाल अनिता परियार, जिएस निर्माण सेवाका प्रोप्राइटर विजय कुमार यादवलगायतलाई आरोपित बनाउँदै बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

उनीहरूलाई डाक्नेश्वरी नगरपालिकाका सबै वडामा २०७८/०७९ आर्थिक वर्षमा स्ट्रीट लाइट जडानको नाममा ठेक्का दिइएको योजनामा अनियमितता गरेको अभियोग लागेको छ। आयोगका अनुसार कामका लागि कम गुणस्तरका सामग्री खरिद गरी फर्जी बिलमार्फत पूरै रकम असार मसान्तभित्रै भुक्तानी लिएर हिनामिना गरिएको छ।

अनुसन्धानका क्रममा नगरपालिकाले १४८ थान स्ट्रीट लाइट जडान गर्न ४८ लाख २४ हजार ८७४ रुपैयाँको ठेक्का दिएकोमा, सार्वजनिक खरिद ऐन, नियम र कार्यविधि विपरीत ठेकेदारसँग मिलेमतो गरी लागत अनुमान तथा कार्य सम्पन्न प्रतिवेदनमा झूटो विवरण प्रस्तुत गरिएको पाइएको हो। फिल्डमा नभएका वा नगरेका कामलाई समेत समेटेर मूल्यांकन गरिएको र गलत प्रतिवेदनको आधारमा निर्माण व्यवसायीलाई ३ लाख ९२ हजार २ सय रुपैयाँ भुक्तानी गरिएको आयोगले जनाएको छ।

त्यसैगरी, “सप्लाई एण्ड डेलिभरी अफ लेड स्ट्रीट लाइट“ योजना अन्तर्गत बिना नमूना परीक्षण र अस्वभाविक दर तोकेर लागत अनुमान तयार गरिएको तथा वास्तविक बजार मूल्यभन्दा बढी मूल्य राखी भुक्तानी दिइएको आयोगको भनाइ छ। यसरी झूटो विवरण र मूल्यमा गडबडी गर्दै गरिएको कार्यबाट नगरपालिकालाई कुल २५ लाख ४ हजार ५३० रुपैयाँ बराबरको क्षति पु¥याइएको पुष्टि भएको आयोगले उल्लेख गरेको छ।

आयोगले यस कार्यमा संलग्न सबै आठ प्रतिवादीमाथि कानुनी कारबाहीको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *