Samajik Feed – News Portal from Nepal

एजेन्सी-
जनकपुरधाम, बैशाख २७ गते ।

भारत र पाकिस्तानबीच पूर्ण युद्धविरामको सहमति भएको छ। दुवै देशका उच्च अधिकारीहरूले यो सहमति तत्काल लागू हुने गरी गरिएको बताएका छन् ।

भारतका विदेश सचिव विक्रम मिस्री र पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेश मन्त्री इसाक डारले युद्धविरामको औपचारिक जानकारी दिएका हुन्। मिस्रीका अनुसार, पाकिस्तानका सैन्य अपरेशन्स निर्देशक (डीएमजीओ) ले भारतीय समकक्षीसँग आज दिउँसो फोन संवाद गर्दै पूर्ण युद्धविराममा सहमति भएको पुष्टि गरेका छन् ।

मिस्रीद्वारा जारी संक्षिप्त विज्ञप्तिमा उल्लेख छ, “दुवै पक्षबीच आज साँझ भारतीय समयअनुसार ५ बजेबाट स्थल, आकाश र समुद्रमार्फत गरिने सबै प्रकारका सैन्य क्रियाकलाप रोक्ने सहमति भएको छ ।“

सहमति कार्यान्वयनका लागि दुवै देशका डीएमजीओहरूलाई निर्देशन दिइसकिएको छ। साथै, मे १२ का दिन दिउँसो १२ बजे पुनः संवाद हुने जानकारी पनि दिइएको छ ।

पाकिस्तानी विदेश मन्त्री डारले जियो टिभीसँगको अन्तर्वार्तामा यो सहमति आंशिक नभई पूर्ण युद्धविराम सम्झौता भएको स्पष्ट पारेका छन्। उनले सम्झौतापछि भारत–पाकिस्तानबीचको सैन्य संवाद र हटलाइन प्रणाली पुनः सक्रिय गरिएको जानकारी पनि दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *