Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, बैशाख २५ गते।

अढाई करोड रुपैयाँभन्दा बढी रकम अनलाइनमार्फत ठगी गरेको आरोपमा धनुषा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने युवाहरु धनुषा, महोत्तरी तथा सर्लाही जिल्लाका बासिन्दा हुन् ।

प्रहरीका अनुसार उनीहरूले सामाजिक सञ्जालमा नक्कली एकाउन्ट बनाएर मोबाइल, लत्ता कपडा लगायतका सामग्रीहरू सस्तोमा उपलब्ध गराउने भन्दै ठगी गर्ने गरेका थिए।

इन्टाग्राम, टिकटक, फेसबुक र ह्वाट्सएपजस्ता माध्यम प्रयोग गरेर सम्पर्कमा आउने व्यक्तिहरूसँग अग्रिम भुक्तानी लिइन्थ्यो र त्यसपछि उनीहरूलाई ब्लक गरी सम्पर्कविहीन बनाइन्थ्यो।

पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–१ का २३ वर्षीय सुरज साह, सर्लाहीको बरहथवा नगरपालिका–७ का २२ वर्षीय नितेश कुमार साह, महोत्तरीको गौशाला नगरपालिका–१ का २२ वर्षीय रोशन साह र २१ वर्षीय सुधीर कुमार महतो, गौशाला–२ का १९ वर्षीय अमित साह, धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ का २२ वर्षीय श्याम सुन्दर महरा र क्षीरेश्वरनाथ–१ का २० वर्षीय राम कुमार महरा रहेका छन्।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार पक्राउ परेका युवाहरू कुलतमा फसेका छन् ।

उनीहरूले विभिन्न २१ वटा सामाजिक सञ्जाल एकाउन्ट तथा पेजहरू प्रयोग गरी ठगी गर्दै आएका थिए।

त्यसैगरी, उनीहरूले आर्थिक रुपमा कमजोर गाउँघरका व्यक्तिहरूलाई रकमको लोभ देखाएर उनीहरूको नाममा बैंक, वित्तीय संस्था तथा वालेट खाता खोल्न लगाउने गर्थे। ती खातामा मोबाइल बैंकिङ सेवा पनि सक्रिय गराई ठगीबाट उठेको रकम ट्रान्सफर गरिँथ्यो।

प्रहरीले उनीहरूको साथबाट १८७ वटा बैंक तथा वालेट खाताको विवरण बरामद गरेको छ । जसबाट हालसम्म २ करोड ६३ लाख ९३ हजार १९२ रुपैयाँ बराबरको आर्थिक कारोबार भएको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *