सामाजिक फीड-
जनकपुरधाम, बैशाख १९ गते ।
सिरहाको लहान नगरपालिका–३ दंग्राहा टोलमा बुधबार साँझ स्थानीय २७ वर्षीय देवकुमार महतोमाथि कुटपिट र खुकुरी प्रहार गरिएको छ । मनिषकुमार महतोले चलाएको मोटरसाइल देवकुमार महतोको जिउमा छोएपछि विवाद भएको थियो ।
घटनामा देवकुमार घाइते भई प्रादेशिक अस्पताल लहानमा उपचार पश्चात थप उपचारको लागि विराटनगर लगिएको छ । उनको टाउको, घाँटी र ढाँडमा चोट लागे पनि अवस्था सामान्य रहेको प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।
खुकुरी प्रहारमा संलग्न आरोपमा ६२ वर्षीय जिवछ महतो, उनकी श्रीमती ६० वर्षीया सीता देवी महतो र छोरा २१ वर्षीय मनिष महतो पक्राउ परेका छन्। अर्का छोरा १९ वर्षीय मुकेश महतो फरार छन्। उनी नै खुकुरी प्रहार गर्ने व्यक्ति भएको पुष्टि भिडियोमार्फत भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीन जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ भने मुकेशको खोजी भइरहेको छ। पीडित पक्षले आरोपितविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत जाहेरी दिएको छ।