सामाजिक फीड-
जनकपुरधाम, बैशाख १८ गते ।
पर्सामा एक युवकको अपहरणको घटना सार्वजनिक भएको छ । घटनामा संलग्न रहेको आरोपमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् ।
अपहरणमा पर्ने व्यक्ति बारा जिल्लाको कलैया उपमहानगरपालिका–१८ का २६ वर्षीय सुधीरप्रसाद साह हुन् । मंगलबार पर्सा प्रहरीले उनलाई अपहरण गरेको आरोपमा चार जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–१२ मुर्ली निवासी २३ वर्षीय रिकेश कुमार गुप्ता, २५ वर्षीय राजन गुप्ता, सखुवाप्रसौनी गाउँपालिका–३ का २४ वर्षीय सिकेन्द्र साह र एक नाबालक छन् ।
प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज–१२ स्थित एक घरमा बन्धक बनाइएको अवस्थामा सुधीरलाई सकुशल उद्धार गरेको हो । उनीहरूबाट फिरौती मागिएको आशंका गरिएको छ ।
पक्राउ परेकाहरूमाथि जिल्ला अदालत पर्साबाट अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।