सामाजिक फीड
जनकपुरधाम, बैशाख १७ गते।
महोत्तरीको मनरा सिसवा नगरपालिकामा पोखरीमा डुबेर दुई बालकको ज्यान गएको छ ।
मनरा सिसवा नगरपालिका–१ का विकेशकुमार सिंहका १२ वर्षीय छोरा शुभमकुमार सिंह र सप्तरीको डाक्नेश्वर नगरपालिका–९ लखनपट्टी निवासी ११ वर्षीय आयुष उर्फ आदित्य सिंहको मृत्यु भएको हो। आदित्य मावली घर आएका थिए।
सोमबार साँझ मनरा सिसवा स्थित महादेव मन्दिर नजिकको पोखरीमा नुहाउन गएका बालकहरूको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा पोखरी किनारमा उनीहरूको कपडा र चप्पल फेला परेका थिए। त्यसपछि खोजतलासको क्रममा दुवै जनाको शव पोखरीमै तैरिरहेको अवस्थामा भेटिएको थियो।
मंगलबार बालकहरूको शवलाई प्रादेशिक अस्पताल जलेश्वरमा पोस्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ।