सामाजिक फीड–
जनकपुरधाम, बैशाख १२ गते।
धनुषाको सहीदनगर नगरपालिका–५ बासुदेवपट्टीमा भएको विष सेवन घटनामा तीन सन्तानपछि उपचारका क्रममा आमाको पनि मृत्यु भएको छ।
३० वर्षीया पविताकुमारी साहको जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचारका क्रममा आज बिहान ९:४५ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए।
गत सोमबार साँझ आफ्नै घरमा पविता र उनका तीन सन्तान विष सेवन गरेको अवस्थामा फेला परेका थिए । सोही दिन ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया छोरी आरुसीको घटनाको दिनमै ज्यान गएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, घरायसी विवादका कारण पविताले आफ्ना सन्तानलाई विष खुवाएर आफैंले पनि सेवन गरेकी थिइन्।
विष सेवन गरेकी पविता ९ महिनाकी गर्भवती थिइन्। विष सेवनपछि अस्पतालमा शल्यक्रिया गरेर शिशु निकालिएको थियो। अहिले शिशुको अवस्था सुधारोन्मुख रहेको प्रहरी प्रवक्ता सिंहले बताए।
पविताको माइती पक्षले उनलाई निरन्तर मानसिक र शारीरिक यातना दिँदै आएको आरोप लगाएका छन्। विष सेवनपछि तत्कालै अस्पताल पुर्याइएकी पविताको भने उपचारकै क्रममा ज्यान गएको हो।