Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, वैशाख ९ गते ।

दुर्ईदिनअघि मात्र मधेशको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त कमलकुमार उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। मंगलबार दायर गरिएको उक्त मुद्दासँगै उपाध्याय काउन्सिलको अध्यक्ष पदबाट स्वतः निलम्बनमा परेका छन्।

उपाध्यायले सोमबार जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा गृह, संचार तथा कानुनमन्त्री राजकुमार लेखीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए। शपथलगत्तै उनले काउन्सिलको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका थिए।

नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष तथा प्रेस चौतारी नेपालका पूर्व सचिव रहेका उपाध्याय ’कृपा दैनिक’का प्रकाशक तथा सम्पादकसमेत हुन्।

अख्तियारको अनुसन्धान अनुसार बाराको पचरौता नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा सार्वजनिक खरिद ऐनको विपरीत विज्ञापन बिना नै ठेक्का प्रक्रियामा आर्थिक अनियमितता गरेको पाइयो। सो क्रममा उपाध्याय, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल आसिम मियाँ अन्सारी दोषी ठहरिएका छन्।

अख्तियारले तीनै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) अनुसार मुद्दा दायर गरेको छ। आयोगले तीन लाख ५२ हजार ५६० रुपैयाँ बिगो कायम गरी सोही ऐनअनुसार कैद र जरिवानाको सजाय माग गर्दै बिगो असुल गर्न विशेष अदालतसमक्ष माग दाबी प्रस्तुत गरेको छ।

अनुसन्धान अनुसार, नगरपालिकाबाट सञ्चालित ठेक्काको बोलपत्र सूचना राष्ट्रिय दैनिकमा प्रकाशित गर्नु पर्ने कानुनी प्रावधान हुँदाहुँदै पनि उपाध्यायको मिलेमतोमा “प्रभाव दैनिक“ मा मात्र एक प्रति सूचना प्रकाशन गरिएको थियो। यो पत्रिका ठेक्काको अभिलेख राख्ने प्रयोजनका लागि मात्र प्रयोग गरिएको पाइएको छ। त्यसै आधारमा पचरौताले केएस मल्टिपर्पस प्रालिलाई तीन लाखभन्दा बढी रकम भुक्तानी दिएको पुष्टि आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *