सामाजिक फीड-
जनकपुरधाम, वैशाख ७ गते ।
जनकपुरधामको ऐतिहासिक गंगासागरको पूर्वी डिलमा हुन लागेको स्वर्गीय रामनारायण मिश्रको स्मारक भवन निर्माण तत्काल रोक्न उच्च अदालत जनकपुरको आदेश दिएको छ ।
महेन्द्र प्रसाद साहले दिएको रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश राजुराम सिलवाको एकल इजलासले उक्त आदेश दिएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाले २०७९ फागुन ४ मा स्वीकृत गरेको नक्साको आधारमा भइरहेको निर्माण कार्यले सार्वजनिक सम्पदामा अपूरणीय क्षति पुर्याउन सक्ने देखिएकाले तत्काल निर्माण कार्य रोक्न भनिएको हो ।
उक्त पोखरीसँग जोडिएको गुठी तैनाथी जग्गामा रामनारायण मिश्र स्मारक समितिले भवन निर्माण सुरु गरेको थियो । त्यसको विरुद्धमा अर्को पक्षले आन्दोलन गर्दै आएको छ । सो विवादको रिट उच्च अदालतमा पगेको थियो ।
रिटमा वरिष्ठ अधिवक्ता राम नेक साह, अधिवक्ता मुकेश कुमार कार्की, प्रकाश कुमार घिमिरे, राहुल कुमार झा, राम सागर साह र राकेश कुमार साहले बहस गरेका थिए ।
न्यायाधीश सिलवाले जारी गरेको आदेशमा भनिएको छ, ‘निर्माणका कारण सार्वजनिक सम्पदामा अपूरणीय क्षति हुनसक्ने देखिएकाले मुद्दाको अन्तिम टुंगो नलागेसम्म हाल भइरहेको निर्माण कार्य रोक्न तथा यदि सुरु भइसकेको छ भने त्यसलाई यथास्थितिमा राख्न विपक्षीहरूलाई आदेश दिइन्छ।’
साथै, विपक्षीमध्येका केही व्यक्तिहरूले १५ दिनभित्र उच्च सरकारी वकिल कार्यालय जनकपुरमार्फत लिखित जवाफ दिनुपर्ने र बाँकीले आफैं वा कानूनी प्रतिनिधिमार्फत जवाफ दिनुपर्ने आदेश पनि दिइएको छ ।
