सामाजिक फीड-
जनकपुरधाम, चैत १६ गते ।
सिराहाको औरही गाउँपालिकामा महायज्ञका नाममा दलितको घरमा डोजर चलाएको घटनामा संलग्न आरोपमा पक्राउ परेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीपकुमार यादव धरौटीमा रिहा भएका छन्।
शुक्रबार, सिराहा जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको इजलासले जनही एक लाख रुपैयाँ धरौटी माग गरेपछि उनीहरू धरौटी बुझाएर रिहा भएका हुन्।
अदालतका स्रेस्तेदार नीरज पोखरेलका अनुसार जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा मुद्दा दर्ता भई थुनछेक बहसपछि धरौटीमा रिहा गर्ने आदेश दिइएको हो। साथै, अदालतले उनीहरूलाई आउँदो १९ वैशाखमा पुनः हाजिर हुन आदेश दिएको छ।
१० फागुनमा औरहीका दीपक मल्लिक (डोम) को घर भत्काइएको थियो। महायज्ञका लागि मण्डप बनाउने भन्दै गाउँपालिकाकै जेसिबी प्रयोग गरेर उनको घर भत्काइएको आरोप छ। यस घटनामा महायज्ञ आयोजक समिति अध्यक्ष तथा जसपाका जिल्ला सदस्य शिवजी यादव र समिति सचिव तथा जनमत पार्टीका पालिका अध्यक्ष दिलीपकुमार यादवलाई ८ चैतमा पक्राउ गरिएको थियो।
पीडित दीपक मल्लिकले ९ चैतमा जिल्ला प्रहरी कार्यालयमा जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि कानुनी प्रक्रिया अघि बढेको हो। महायज्ञस्थलको पूर्व-दक्षिण कुनामा रहेको डोम परिवारको घर १० दिनसम्म चल्ने विष्णु महायज्ञका लागि उठीबास गराइएको थियो।
महायज्ञका मूल पुजारी बजरंगी बाबा भने अझै फरार छन्।