Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत १४ गते ।

सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्बर ५ का पूर्व वडाध्यक्ष दिलीप यादवलाई थप तीन दिन थुनामा राख्न जिल्ला अदालत सिरहाले म्याद थप गरेको छ। प्रहरीका अनुसार, उनीहरूलाई दोस्रो पटक म्याद थप गर्दै अदालतले थप अनुसन्धानका लागि अनुमति दिएको हो।

प्रहरी प्रवक्ता डीएसपी विरेन्द्र पासवानका अनुसार, महायज्ञको नाममा दलित परिवारको घर भत्काएको आरोपमा चैत ८ गते प्रहरीले दुवै जनालाई पक्राउ गरेको थियो। यसअघि चैत १० गते पहिलो पटक पाँच दिनको म्याद थप गरिएको थियो।

गत फागुन १० गते औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ आयोजन गर्न स्थानीय दिपक मरिक डोमको घर भत्काइएको थियो। घर भत्काउनुका साथै त्यहाँको माटोसमेत ताछेर फालिएको समाचार सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पीडित दिपक मरिकले चैत ९ गते जातीय भेदभाव तथा छुवाछुत कसुरमा जाहेरी दर्ता गराएका थिए। पक्राउ परेकासहित तीन जनामाथि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *