Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत ३ गते ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सप्तरी सदरमुकाम राजविराजका सात स्वास्थ्य संस्थाको छड्के अनुगमन गरेका छन्। अनुगमनपछि उनले दुई अस्पताल तत्काल बन्द गर्न निर्देशन दिएका छन्।

मुख्यमन्त्री सिँहले स्वास्थ्य क्लिनिकको अनुमति लिएर पोलिक्लिनिकका रूपमा सञ्चालन भइरहेको प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरलाई बन्द गर्न निर्देशन दिएका छन्। स्थानीय तहबाट क्लिनिक सञ्चालनको अनुमति लिएर अस्पतालस्तरको सेवा प्रदान गरिरहेको भेटिएपछि उक्त निर्देशन दिइएको हो। पोलिक्लिनिक सञ्चालनका लागि प्रदेश सरकारबाट छुट्टै अनुमति आवश्यक पर्ने प्रावधान रहेको जनाइएको छ।

यसैगरी, सेवा सञ्चालन अनुमतिबिना सञ्चालन भइरहेको भारती इमेजिङ सेन्टरलाई पनि बन्द गर्न निर्देशन दिइएको छ। प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवं अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरका अनुसार अनुमतिबिना स्वास्थ्य सेवा प्रवाह गरिरहेका संस्थाहरूमाथि कडाइ गरिएको छ।

अनुगमनका क्रममा अनार भुवनेश्वर हस्पिटल प्रालि र सञ्जनदीप हस्पिटललाई दुई महिनाभित्र आवश्यक मापदण्ड पूरा गर्न निर्देशन दिइएको छ। यी अस्पतालहरूले १५ शय्याको सेवा सञ्चालन अनुमति लिएका भए पनि तोकिएका मापदण्ड पूरा नगरेको पाइएपछि सुधारका लागि समयसीमा तोकिएको हो। साथै, ५० शय्याको सेवा अनुमति लिएको युनिक सिटी अस्पताललाई दुई महिनाभित्र अनुमतिपत्र नवीकरण गर्न निर्देशन दिइएको छ।

दुई सय शय्याको छिन्नमस्ता अस्पतालको अवस्था सन्तोषजनक रहे पनि सरसफाइ व्यवस्थापनमा सुधार गर्नुपर्ने सुझाव मुख्यमन्त्री सिँहले दिएका छन्।

मुख्यमन्त्री सिँहले संघीय सरकार मातहतको गजेन्द्रनारायण सिँह अस्पतालको समेत निरीक्षण गरेका छन्। अनुगमनका क्रममा आकस्मिक कक्षमा मेडिकल अफिसरको अभाव, जनशक्ति अनियमित उपस्थिति, तथा ल्याब आम्दानीमा ५० प्रतिशतभन्दा बढी गिरावट देखिएको उनले औंल्याए। यी समस्याको समाधानका लागि संघीय स्वास्थ्य मन्त्रीसँग छलफल गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *