सामाजिक फीड-
जनकपुरधाम, फागुन १९ गते ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालसहित १९ वटा निजी अस्पताल तथा पोलिक्लिनिकको अनुगमन गरेका छन्। अनुगमनका क्रममा १५ वटा स्वास्थ्य संस्था अवैध रूपमा सञ्चालनमा रहेको पाइएपछि मुख्यमन्त्री सिँहले तिनलाई तत्काल बन्द गर्न निर्देशन दिएका छन्।
मुख्यमन्त्री सिँहले सेवा सञ्चालन अनुमति लिएका तीन निजी अस्पताल तथा पोलिक्लिनिकलाई दुई महिनाभित्र नवीकरण गर्न आदेश दिएका छन्। प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत तथा अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरका अनुसार प्रादेशिक अस्पतालमा बिरामीलाई दिइने खानाको गुणस्तर कमजोर देखिएकोले क्यान्टिन परिवर्तन गर्न समेत निर्देशन दिइएको छ।
मुख्यमन्त्री सिँहले प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा आवश्यक जनशक्ति पूर्ण रूपमा परिचालन गर्न र अन्तरङ्ग कक्षमा रहेका एम्बुलेन्स चालकका नाम हटाउन निर्देशन दिएका छन्।
मुख्यमन्त्री सिँहको अनुगमनको खबर फैलिएपछि मलंगवाका अधिकांश निजी अस्पताल तथा पोलिक्लिनिक बन्द गरिएका थिए। केही अस्पतालका सञ्चालक तथा कर्मचारी फरार भएका थिए।
अनुगमन टोलीले जयश्री ओम हेल्थ केयर प्रालि, श्री तिरुपति बालाजी पोलिक्लिनिक प्रालि र श्री बह्मभूमि हेल्थ रिसर्च प्रालिलाई दुई महिनाभित्र नवीकरण गराउन निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए।
यसैगरी, मैक्स हस्पिटल, श्री मिथिला डेन्टल क्लिनिक, श्री दिनकर अस्पताल, श्री रामावतार पेन पारालाइसीस सेन्टर, श्री क्ल्याण हेल्थ केयर, श्री शीतल डेन्टल केयर प्रालि, श्री चन्द्रकला पोलिक्लिनिक, श्री इन्डो नेपाल आँखा अस्पताल, श्री कान्तिपुर डेन्टल एवम् एक्सरे क्लिनिक, श्री प्रेमा हेल्थ क्लिनिक, श्री सर्लाही कम्युनिटी हेल्थ केयर प्रालि, श्री गुप्ता क्लिनिक प्राथमिक उपचार केन्द्र, सर्लाही पोलिक्लिनिक, श्री सिद्धिदाता हेल्थ केयर प्रालि र श्री देवश्री पोलिक्लिनिक प्रालिलाई तत्काल बन्द गर्न निर्देशन दिइएको छ।