Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन २९ गते ।

पन्ध्रदिने मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै छ। १४ औं दिन भारतको विसौलमा विश्राम गरेका तीर्थयात्रीहरू आज १५ औं दिन जनकपुरधाम आइपुगेका छन्।

परिक्रमा यात्रीहरू आज जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतिया गाछी तथा अन्य स्थानहरूमा बास बस्नेछन्। फागु औँसीको दिन, अर्थात् गत फागुन १५ गते, धनुषाको मिथिला नगरपालिका–८, कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट मिथिला बिहारीको डोला जनकपुरधाम आइपुगेपछि अन्यमठ मन्दिरबाट किशोरीजीको डोला समेत समावेश भई परिक्रमा विधिवत रूपमा सुरु भएको थियो।

फागु पूर्णिमाको अवसरमा आज पुनः जनकपुरधाम फर्किएका तीर्थयात्रीहरूले भोलि अन्तरगृह परिक्रमा गर्नेछन्, जसलाई ‘पञ्चकोशी परिक्रमा’ पनि भनिन्छ। यो परिक्रमामा माध्यमिकी परिक्रमामा सहभागी हुन नपाएका भक्तजनहरू विशेष रूपमा सामेल हुने गर्छन्।

मधेशको ‘महाकुम्भ’ मानिने मिथिला माध्यमिकी परिक्रमा १५ दिने यात्रा हो, जसमा १३३ किलोमिटर क्षेत्रको पैदल यात्रा गरिन्छ। परिक्रमा मार्गमा जनकपुरको हनुमाननगर, बिहारको कलना (कल्याणेश्वर), भारतकै फुलहर (गिरिजास्थान), महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, भारत बिहारको करुणा, विसौल लगायतका स्थान समेटिएका छन्।

धार्मिक मान्यताअनुसार, मिथिला बिहारी र किशोरीजीको डोलासँगै परिक्रमा गर्दा भक्तजनहरू रोग, दुःख–कष्ट तथा समस्याबाट मुक्त हुने विश्वास गरिन्छ। त्यसैले धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरीका साथै भारतका सितामढी, मधुबनी, दरभंगा लगायत स्थानहरूबाट हजारौं श्रद्धालु तथा साधु–सन्तहरू सहभागी हुने गर्छन्।

वृहत्त परिक्रमा, मध्य परिक्रमा र अन्तरगृह गरी तीन परिक्रमा गरिन्छ । परिक्रमा यात्रा परम्परागत बाजागाजा, झाँकी, कीर्तन, मौलिक पहिरन, भजन–कीर्तनसहित आयोजना गरिन्छ, जसमा विशेष गरी पाका उमेरका नर–नारीहरू बढी सहभागी हुने गर्छन्।

भोलि परिक्रमा समापन भएसँगै पर्सी मिथिलाञ्चलभरि धुमधामका साथ होली पर्व मनाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *