सामाजिक फीड-
जनकपुरधाम, फागुन १७ गते ।
मधेश सरकारले राजमार्ग क्षेत्रको १३ निजी अस्पतालको अनुगमन गर्दा १२ वटा अवैध रहेको पाइएको छ ।
मुख्यमन्त्री सतिशकुमारसिंह र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सत्रुधन प्रसादसिंह सहितको टोलिले रौतहटको चन्द्रपुर र सर्लाहीको हरिवनका १३ निजी अस्पतालहरूको अनुगमन गरेको हो । अवैध पाइएका १२ अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त प्रदेश सचिव राजेश मिश्रका अनुसार अनुगमन गरिएको १३ मध्ये चन्द्रपुरस्थित चन्द्रपुर हस्पिटल प्रा.लि. मात्र कानुनी रूपमा दर्ता भएर सञ्चालनमा रहेको पाइएको छ। सो अस्पताललाई चिकित्सक तथा कर्मचारीलाई दिने तलब र कर विवरण पेश गर्न निर्देशन दिइएको छ।
अनुमति नलिई सञ्चालन भइरहेका अस्पतालहरूमा रौतहटको हाइवे ट्रमा हस्पिटल एन्ड रिसर्च सेन्टर, सिभिल ह्युमन हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., पब्लिक लाइफ केयर पोलिक्लिनिक, चपुर सिटी हस्पिटल प्रा.लि., हिमालयन पोलिक्लिनिक, सिम्स अस्पताल प्रा.लि., चन्द्रपुर अर्थोपेडिक एन्ड जेनरल हस्पिटल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्र, चन्द्रपुर सामुदायिक हस्पिटल प्रा.लि., मोडेल अर्थोपेडिक एन्ड जेनरल हस्पिटल प्रा.लि. तथा सर्लाहीको दयन्ती हस्पिटल प्रा.लि. र सर्लाही जीवन हेल्थ केयर प्रा.लि. परेका छन्।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णका अनुसार सरकारले तोकेको मापदण्डअनुसार संघ, प्रदेश तथा स्थानीय तहबाट अनुमति लिएर मात्र अस्पताल सञ्चालन गर्नुपर्ने प्रावधान छ। तर, धेरैजसो अस्पतालहरूले कम्पनी दर्ता गरेर वा कुनै प्रक्रिया नअपनाई सिधै सञ्चालन गरिरहेका छन्।