Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन १६  गते ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरीको बर्दिवासस्थित अवैध रूपमा सञ्चालनमा रहेका पाँचवटा अस्पताल तत्काल बन्द गर्न निर्देशन दिएका छन्।

शुक्रबार आठवटा निजी हस्पिटल  अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले सेवा सञ्चालन अनुमति नलिएका पाँच वटालाई बन्द गर्न निर्देशन दिएका हुन् ।

पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक प्रालि, ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र खोमुसरा डेन्टल क्लिनिक प्रालि लाई बन्द गर्न निर्देशन दिएका हुन्।

मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णका अनुसार यी अस्पतालहरूले आवश्यक अनुमतिबिना सेवा सञ्चालन गरिरहेको पाइएको छ। मुख्यमन्त्री सिंहले सम्बन्धित सञ्चालकहरूलाई आवश्यक प्रक्रिया पूरा गरी मात्रै सेवा सञ्चालन गर्न निर्देशन दिएका छन्।

अनुगमनका क्रममा महेन्द्र डेन्टल क्लिनिक प्रालि ले सेवा सञ्चालनको स्वीकृति लिएको पुष्टि भएको छ भने जनसेवा हस्पिटल प्रालि र डी.एन.बी. मेडिकेयर सेन्टर प्रालि लाई अनुमतिपत्र नवीकरण गराउन निर्देशन दिइएको छ।

हाल निजी अस्पतालहरूको अनुगमनलाई तीव्रता दिइरहेका मुख्यमन्त्री सिंहले मापदण्ड विपरीत सञ्चालनमा रहेका अस्पतालहरू बन्द गर्दै स्वास्थ्य सेवामा पारदर्शिता र गुणस्तर सुनिश्चित गर्न सक्रिय कदम चालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *