Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, फागुन १५ गते ।

मिथिलाको महाकुम्भ मानिने १५ दिने मिथिला मध्य परिक्रमा आजदेखि सुरु भएको छ। धनुषाको मिथिला बिहारी नगरपालिकास्थित कचुरीबाट मिथिला बिहारीको डोला परिक्रमाका लागि प्रस्थान गरेपछि परिक्रमाको शुभारम्भ भएको हो ।

आज दिउँसो जनकपुरधाम आइपुग्ने मिथिला बिहारीको डोला अग्निकुण्डमा विश्राम लिनेछ । त्यसपछि किशोरीजीको डोलासहित जनकपुरका विभिन्न मठमन्दिर परिक्रमा गर्दै हनुमाननगर पुगेर रात्रि विस्राम गर्ने छ । भोलिपल्ट परिक्रमा भारतको बिहार राज्यस्थित कलनामा रहेको कल्याणेश्वर मन्दिर प्रस्थान गर्ने छ ।

फागुन औंसीदेखि पूर्णिमासम्म चल्ने यस परिक्रमामा नेपालका धनुषा र महोत्तरी तथा भारतको बिहारका धार्मिक स्थलहरूको १२० किलोमिटर यात्रा गरिन्छ। जसअन्तर्गत नेपालतर्फ ९० किलोमिटर र भारततर्फ ३० किलोमिटर यात्रा गरिन्छ।

१५ दिने परिक्रमा क्रममा क्रमशः जनकपुरको हनुमाननगर, बिहारको कलना स्थित कल्याणेश्वर, भारतकै फुलहरस्थित गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत), विसौल (भारत) हुँदै अन्तिम दिन अर्थात् १५ औं दिन जनकपुरको अन्तरगृह परिक्रमा गरी मध्य परिक्रमा सम्पन्न हुनेछ।

परम्परागत बाजागाजा, झाँकी, कीर्तन तथा मौलिक पहिरनमा लाखौं श्रद्धालु नरनारी यस परिक्रमा सहभागी हुने गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *