सामाजिक फीड-
जनकपुरधाम, फागुन ६ गते ।
सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदायको मृत्युकापछि पञ्चायती गर्नेहरु फरार भएका छन् । सामूहिक बलात्कार भएको र पञ्चयत बसेर घटना मिलाउने प्रयास भएपछि रिंकुको माघ ३० गते शंकास्पद मृत्यु भएको थियो । घरमा झुण्डिएको अवस्थामा रिंकु मृत फेला परेकी थिइन् ।
घटना सार्वजनिक भएपछि बलात्कारमा संलग्न तीन युवक र पञ्चायत गर्नेहरु फरार भएका हुन् । मधेश प्रदेश प्रहरी कार्यालयले घटना छानविन गर्न कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शान्ति राज कोईरालाको नेतृत्वमा पाँच सदस्य छानबिन समिती गठन गरेको छ । उक्त समितिमा प्रहरी निरीक्षक तथा मुद्दा शाखाका कर्मचारीसहित पाँच सदस्यहरू छन् । सो समितिले आजदेखि घटना स्थलमा गई घटनाको बारेमा बुझ्ने तथा अनुसन्धान कार्य प्रारम्भ गरेको छ ।
मधेश प्रदेशका एसएसपी शान्तिराज कोइरालाको नेतृत्वको टोली घटनास्थलमै गएर अनुसन्धान गरिरहेको छ । सो क्रममा मध्यराति भएको घटना दबाउन पञ्चायती बसेको र रकममा बार्गेनिङ भएको विषयलाई पुष्टि गरेको छ ।
आमा सीतादेवी र भाइ भुलासँग बस्दै आएकी रिंकु २६ माघको राति करिब ९ बजेतिर शौच गर्न भनेर बाहिर निस्केकी थिइन् । तर ६ घण्टासम्म घर फर्किनन् । उनी २७ माघ बिहानीपख ३ बजेतिर रोइरहेको अवस्थामा घरबाहिर फेला परिन् ।
६ घण्टा बेपत्ता भएर घर फर्केपछि उनले परिवारलाई आफूमाथि सामूहिक बलात्कार भएको बताएकी थिइन् । परिवारका सदस्यका अनुसार रिंकुले आफूलाई स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले बलात्कार गरेको दाबी गरेकी थिइन् । ‘शौच गर्न गएका बेला तीन जनाले उठाएर बाँसघारीमा लगेर सामूहिक बलात्कार गरे,’ रिंकुले त्यसबेला भनेको उनका परिवारका सदस्य बताउँछन् ।
आफूमाथि बलात्कार भएको बताएकी दलित समुदायकी रिंकु टिनले छाएको आफ्नै ‘भुईं घर’ मा झुन्डिएको अवस्थामा ३० माघको राति ७ः२० मा मृत भेटिएकी थिइन् । सलले घाँटीमा पासो लगाएको अवस्थामा उनको शव फेला परेको थियो ।
मृत्यु हुनुअघि रिंकुले आफूमाथि सामूहिक बलात्कार भएको बताएपछि घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा समेत बसेको थियो । घटना दबाउन २९ माघमा गाउँमा पञ्चायती बसेको थियो । पञ्चायती बसेको विषय पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्रकुमारले बताए । तर रकमको लेनदेन भएको विषय भने अनुसन्धानकै क्रममा रहेको उनले बताए ।
बलात्कारको घटना दबाउन भन्दै आरोपितमध्येका रुपेश मण्डलको परिवारले १ लाख ५० हजार रुपैयाँ दिने समेत तयारी गरेको बुझिएको छ । तर रकमको लेनदने हुन बाँकी नै रहेको प्रहरीको भनाइ छ ।
पीडितले यो प्रस्ताव अस्वीकार गरेपछि पहिलो दिनको पञ्चायती सभा बिना निष्कर्ष टुंगिएको थियो । त्यसपछि भोलिपल्ट ३० माघमा पनि पञ्चायती राखिएको थियो । त्यसको केही समयमै रिंकु झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
घटना दबाउनका लागि सञ्चायती बस्नेहरू अधिकांशजसो फरार भएका छन् । सोमबारबाटै घटनास्थल पुगेको एसएसपी कोइरालाको टोलीले यसबारे अनुसन्धान गरेको थियो । तर प्रहरीले पञ्चायती बसेको भनिएका कोही व्यक्तिलाई पनि अहिलेसम्म भेट्न सकेको छैन ।
एसएसपी कोइराला भन्छन्, ‘पञ्चायती बसेको भनिएका व्यक्ति अधिकांश अहिले फरार छन् । भिडिओ÷फोटाबाट पहिचान गरेर सोधपुछ गर्छौं ।’
पञ्चायती बसेको विषय प्रहरीले पुष्टि गरे पनि कति जना छलफलमा बसेका थिए भन्नेबारे यकिन गर्न सकेको छैन । पीडित परिवारले धेरै व्यक्ति बसेको मात्रै बताउने गरेकाले यकिन कतिजना छलफलमा सहभागी थिए भन्ने यकिन हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।
पञ्चायती सभामा वडासदस्य नथुनी साह समेत सहभागी भएको प्रहरी स्रोतले बताएको छ । उनका साथै रामकृपाल मण्डल, रामपृत साह, रामपुकार मण्डल लगायत पञ्चायती सभामा रहेको खुलेको छ । यद्यपि, वडासदस्य नथुनीसहित अधिकांश फरार रहेका छन् ।
परिवारले रिंकुमाथि बलात्कारको आरोप लगाए पनि प्रहरीमा भने आत्महत्या दुरुत्साहनको जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्र पासवानले १९ वर्षीय स्थानीय रुपेश मण्डलविरुद्ध रिंकुका काका राम सदायले आत्महत्या दुरुत्साहनको कसुरमा जाहेरी दिएको बताए ।
‘बाहिर सामूहिक बलात्कार भन्ने हल्ला चले पनि हामीकहाँ दुरुत्साहनको जाहेरी आएको छ । सोही अनुसार अनुसन्धान अघि बढाइरहेका छौं,’ पासवानले अनलाइखबरसँग भने, ‘अनुसन्धानका क्रममा बलात्कार खुलेमा त्यसमा पनि अनुसन्धान अघि बढाउँछौं ।’
प्रेम सम्बन्धमा खटपट आएपछि प्रेमिका रिंकुले आत्महत्या गरेको र त्यसको कारण रुपेश रहेको आरोप लगाइएको उनको भनाइ छ । ‘रिंकु र रितेशको पहिलेदेखि नै प्रेम रहेको तर रुपेशको घरपरिवारले नस्वीकार्ने कुरा गरेपछि आत्महत्या गरेको’ काका राम सदायले दिएको जोहरीमा उल्लेख छ ।
यो घटनामा अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन । आरोपित रुपेश फरार छन् भने अन्यको हकमा जाहेरी नै नआएको भन्दै प्रहरीले उनीहरुमाथि अनुसन्धान अघि बढाएको छैन ।