Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन २ गते ।

मधेश प्रदेश सरकारले जनकपुरधामका थप पाँच निजी अस्पतालमा छड्के अनुगमन गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंह र स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहको नेतृत्वमा भएको अनुगमनका क्रममा दुई अस्पताल नवीकरण फेल भएको तथा दुई अस्पतालमा आवश्यक कागजातको अभाव रहेको पाइएको छ ।

रेल्वे स्टेशन नजिक रहेको ५० शय्याको जनकपुर सिटी हस्पिटल र धनुषा अस्पताल दर्ता भए पनि नवीकरण फेल भएको भेटिएको छ। सिटी अस्पतालका कर्मचारीहरूको तलब विवरण तथा कानुनअनुसार गरीब, दलित र सीमान्तकृतलाई दिइने छुटसम्बन्धी विवरणसहित आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ। धनुषा अस्पताललाई पनि नवीकरणको विवरण लिएर उपस्थित हुन निर्देशन दिएको हो ।

यस्तै, कदमचोकस्थित न्युरो सेन्टर र विनयतारा फाउन्डेसन क्यान्सर अस्पतालले अनुमति लिएको कागजात देखाउन नसकेपछि मुख्यमन्त्री सिंहले आइतबार आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएका छन्।

अनुगमनका क्रममा मुरलीचोकस्थित जनकपुर न्युरो अस्पताल भने दर्ता रहेको पुष्टि भएको छ। यसअघि मुख्यमन्त्री सिंहले जनकपुरधामका २६ वटा निजी अस्पतालको छड्के अनुगमन गरिसकेका छन्, जसमा दर्ता नभएका पाँच अस्पताल बन्द गरिसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *