सामाजिक फीड-
जनकपुरधाम, फागुन १ गते ।
मधेश सरकारले जनकपुरमा निजी अस्पताललाई छड्के अनुगमन गर्ने कामलाई निरन्तरता दिएको छ । मुख्यमन्त्री सतिशकुमार सिंह र स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधनप्रसाद सिंहसहितको टोलीले आज साँझ गरेको अनुगमनको क्रममा दुई अस्पताल विना दर्ता सञ्चालनमा रहेको र अन्य केहीमा मापदण्डको त्रुटि फेला परेको छ ।
पीडारीचोकस्थित जनकपुर मधेश हस्पिटल र रामानन्दचोकस्थित जनकपुर गोल्डेन अस्पताल दर्ताविनै सञ्चालनमा रहेको पाइएको छ । मुख्यमन्त्री सिंहले दुबै अस्पताललाई भोलि बिहानसम्म विरामी व्यवस्थापन गरेर ११ बजेसम्म बन्द गर्न निर्देशन दिएका छन् ।
सुरक्षा अस्पतालमा अनुगमन गर्दा नविकरण नभएको र सरसफाइमा कमजोरी देखिएको छ । मुख्यमन्त्री सिंहले सरसफाइ सुधार गर्न र आवश्यक कागजातसहित भोलि मन्त्रालयमा उपस्थित हुन निर्देशन दिए ।
जिरोमाइलस्थित ज्योति आँखा अस्पतालका सञ्चालक बाहिर रहेकाले भोलि कागजात लिएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिइएको छ ।
हिरा हस्पिटलमा दर्ता कागजात दुरुस्त पाइए पनि ५० बेड क्षमताको अस्पतालको आकस्मिक कक्षमा ८ वटा बेड भेटिएको छ । आकस्मिक कक्षमा आवश्यक ५ वटा मात्र बेड राख्न निर्देशन दिइएको छ ।
यसअघि शनिबार मुख्यमन्त्री सिंहले २० वटा निजी अस्पतालमा छड्के अनुगमन गरेका थिए । त्यस क्रममा केही दर्ता नभएका अस्पताललाई बन्द गर्न निर्देशन दिए पनि केहीले अटेर गरेका थिए । अटेर गर्ने जनकपुर मोर्डन अस्पताललाई आजै बन्द गराइएको छ भने संचालक रामभरोस महतोलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाइएको छ ।