सामाजिक फीड-
जनकपुरधाम, माघ ३० गते ।
काठमाडौंको शंखरापुर नगरपालिका–५ मा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ४० जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–७ स्थायी घर भई काठमाडौंको कपन बस्ने ११ वर्षीय क्रिशल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भई चाबहिल बस्ने २४ वर्षीय सुरेश तामाङ र सिन्धुपाल्चोक घर भइ हाल काठमाडौंको भिमसेनगोला बस्ने १४ वर्षीया शुशांका डोटेल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए ।
मृतकमध्ये एक जनाको नेपाल मेडिकल कलेज, एक जनाको शंखरापुर अस्पताल र एक जनाको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
चाबहिलको मैजुबाहलस्थित सत्य साई एकेडेमीका विद्यार्थी बोकेको बा २ ख ७९५८ नम्बरको बस पिकनिकका लागि नगरकोट गएको थियो । फर्कने क्रममा साँझ करिब ५ बजे बस ब्रेक फेल भएर दुर्घटनामा परेको अनुमान गरिएको छ । बसका चालक सिन्धुपाल्चोक चौतारा घर भएका ३९ वर्षीय मनिष माझी रहेको खुलेको छ ।
दुर्घटनामा घाइते भएका २४ जनाको पिपुल्स लाइफ केयर अस्पताल, १० जनाको नेपाल मेडिकल कलेज, तीन जनाको त्रिवि शिक्षण अस्पताल, तथा केहीको शंखरापुर अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूमध्ये धेरैजना विद्यार्थी रहेका छन् ।