सामाजिक फीड-
जनकपुरधाम, माघ २० गते ।
जनकपुरधाममा सञ्चालनमा रहेका थप तीन अवैध अस्पताल बन्द भएका छन् । जनकपुर सीता हस्पिटल प्रा.लि., अरमान हस्पिटल प्रा.लि., र बिएन हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि. आइतबारदेखि बन्द भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकृत तथा अनुगमन समितिका सदस्य सन्तोष ठाकुरका अनुसार यी अस्पतालका सञ्चालकहरूले स्वयं ताला लगाई साँचो सरकारलाई बुझाएका छन्।
यसअघि, उपचारमा लापरवाहीको घटना सार्वजनिक भएपछि मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनमा शनिबार पिडारीचोकस्थित मुस्कान अस्पताल पनि बन्द गरिएको थियो।
जनकपुरमा दर्ताविना सञ्चालनमा रहेका धेरै निजी अस्पतालहरूमा उपचारको लापरवाहीका कारण बिरामीको जीवन जोखिममा परेको घटनाहरू लगातार सार्वजनिक भइरहेका छन्। यसै सन्दर्भमा, मुख्यमन्त्री सिंहले शनिबार २० वटा निजी अस्पतालको अनुगमन गरेका थिए। सो क्रममा अधिकांश अस्पताल दर्ता विना तथा मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएपछि उनले तत्काल सुधार गर्न निर्देशन दिएका थिए।
मुख्यमन्त्री सिंहले अस्पताल सञ्चालकहरूलाई कानुनी रूपमा दर्ता नगरिए ११ बजेसम्म साँचो बुझाउन निर्देशन दिएका थिए। अन्यथा, सरकारी टोली परिचालन गरी अस्पतालहरू बन्द गरिने चेतावनी दिएका थिए। सोही निर्देशनअनुसार तीन अस्पतालका सञ्चालकहरूले साँचो सरकारलाई बुझाएका हुन्।