Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, माघ २५ गते

जनकपुरधाम–१४ पिडारीचोक स्थित दर्ताविनाको मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रियामा एक बिरामीको २० दिनसम्म होस नआएको छ। सर्लाहीको हरिपुर्वा नगरपालिका ५ का अंगेश यादवकी २५ वर्षीया श्रीमती वविता यादव शल्यक्रिया पछि गम्भीर अवस्थामा पुगेकी छन्।

वविताका बुबा ब्रह्मदेव यादवका अनुसार, माघ ३ गते मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रिया गरिएको थियो। शल्यक्रियामा डा. ज्ञानकुमार साहको नेतृत्वमा सर्जन टोलिले काम गरेपनि शल्यक्रियाको २० दिनपछि पनि वविता होशमा आउन सकेकी छैनन्। शल्यक्रियामा लापरबाहीका कारण छोरीको अवस्था गम्भीर भएको उनको आरोप छ।

शल्यक्रिया पछि ववितालाई भेन्टिलेटरमा राखिएको थियो। तर, सुधार नआएपछि अस्पतालले सिटीस्क्यान गर्न बाहिर पठायो। सिटीस्क्यानपछि अस्पतालले यहाँ न्यूरो चिकित्सक नभएको भन्दै अन्यत्र उपचार गराउनको लागि दबाब दिएको बुबा ब्रह्मदेवले बताए। माघ ६ गते उनलाई जनकपुरको जानकी हेल्थकेयरमा भेन्टिलेटरमा भर्ना गरियो, तर अहिलेसम्म उनको होस फर्केको छैन।

ब्रह्मदेव यादवले भने, ‘शल्यक्रियामा भएको लापरबाहीका कारण छोरीको होस आएको छैन। मुस्कान अस्पतालले भनेको जस्तो चिकित्सक नभएको कारण छोरीको जीवन संकटमा परेको हो।’

अस्पतालका इन्चार्ज हरिश्चन्द्र यादवले थप उपचारको लागि बाहिर ल‌ैजान पटकपटब आग्रह गरेपनि आर्थिक समस्याका कारण परिवारले बाहिर नलगेको बताए ।

बिरामीका परिवारले मुस्कान अस्पतालको लापरवाहीका कारण वविता यादवको उपचार बाहिर पुर्याउन परेको बताएको छ। उनीहरूले चिकित्सक र अस्पतालविरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषा र नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका छन्।

वविता यादवको उपचारको क्रममा लापरवाही भएको दावी गर्दै बुबा ब्रह्मदेवले अस्पताल र चिकित्सकविरुद्ध उजुरीमा भनेका छन्, ‘विपक्षी अस्पतालले सुविधा नभएको र उपचार गर्न नसक्ने बिरामीलाई प्रारम्भमा भर्ना नगर्नु पर्नेमा, लापरवाहीले बिरामीलाई असहज अवस्थामा पुर्याएको छ।’

डा. साहले भने कि वविता यादवको शल्यक्रियामा कुनै लापरबाही नगरेको दावी गरे ।

‘बिरामी होशमा आइपुगेका थिए। तर, छारे रोगले च्यापेपछि पुनः बेहोस भएको हो’ डा. साहले भने ।

उनले परिवारजनले छारे रोगको हिस्ट्री  लुकाएको दावी गरे ।
डाक्टरले लापरबाही गरेको घटनाबाट जोगिन छारेरोग रहेको गलत आरोप लगाएको दावी गर्छन् ।

शल्यक्रिया भएको २५ बेडको मुस्कान अस्पताल एक महिना अघि मात्र दर्ता बिनै सञ्चालनमा आएको खुलेको छ । जनकपुरधाम उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख विजय साह अहिलेसम्म यो अस्पताल दर्ता प्रक्रियामा समेत आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *