सामाजिक फीड-
जनकपुरधाम, माघ २१ गते ।
श्रीपञ्चमी पर्व आज देशभर विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरी उल्लासपूर्वक मनाइँदैछ। हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन पर्ने यस पर्वलाई वसन्त पञ्चमी पनि भनिन्छ।
सरस्वतीको पूजा गर्दा विद्या र बुद्धि वृद्धि हुने धार्मिक विश्वास रहेको छ। यस अवसरमा देशभरका सरस्वती मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ। विशेषगरी विद्यालय नगएका साना बालबालिकालाई आजैका दिन अक्षरारम्भ गराउने परम्परा छ। आज लेखपढ सुरु गरे राम्रो विद्या प्राप्त हुने मान्यता रहिआएको छ।
चन्द्रमाजस्तो शुभ्र वर्ण भएकी, हातमा वीणा र पुस्तक लिएकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हँसवाहिनी, वागीश्वरी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता विभिन्न नामले पुकार्छन्। विद्या र सिर्जनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक तथा विद्यार्थीहरूले कलम, कापी, कुची, वाद्ययन्त्रजस्ता आफ्ना साधनहरू सरस्वतीकै रूपमा पूजा गर्छन्। तान्त्रिकहरूले भने उनलाई तारादेवीका रूपमा आराधना गर्ने गर्छन्।
यस दिनलाई वसन्त ऋतुको प्रारम्भको संकेतस्वरूप पनि मनाइन्छ। सूर्य उत्तरतिर लाग्ने समय भएकाले दिन क्रमशः लामो हुँदै जाने विश्वास छ। ऋग्वेदमा वाग्देवीका रूपमा प्रसिद्ध सरस्वती ब्रह्माकी अर्धाङ्गिनी मानिन्छिन्। गान्धर्व पुराणमा उल्लेख भएअनुसार आज सरस्वतीको पूजा गरी विद्यारम्भ गर्दा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने मान्यता छ।
यस अवसरमा विवाह, व्रतबन्ध, गुफा राख्ने तथा बेलविवाहजस्ता सामाजिक एवं धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने विश्वास गरिन्छ। साथै, बालबालिकाहरूलाई शिक्षारम्भ गराउने र नाक–कान छेड्ने परम्परा पनि रहेको छ।
आज बिहानैदेखि सरस्वतीका मन्दिरहरूमा भक्तजन, विशेषगरी छात्रछात्राहरूको ठूलो भीड लागेको छ। सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या तथा बुद्धि स्फुरण भई चेतनाको ज्योति प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।