Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ १८ गते ।

नेपाल कबड्डी लिग (एनकेएल) को उपाधि जनकपुर नाइट्सले अपराजित यात्रा कायम राख्दै जितेको छ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा सम्पन्न रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनलमा जनकपुरले काठमाडौं माभरिक्सलाई ४५–४१ को अन्तरले पराजित गर्दै पहिलो संस्करणको उपाधि उचालेको हो।

टुर्नामेन्टभरि उत्कृष्ट प्रदर्शन गरेको जनकपुरले कुनै पनि खेलमा पराजय भोग्नुपरेन। लिग चरणमा ५ मध्ये ४ खेल जित्दै १ खेल बराबरी खेलेको जनकपुरले क्वालिफायर वानमा विराटनगर ब्यान्डिट्सलाई तथा फाइनलमा काठमाडौंलाई हराएर अपराजित रहँदै च्याम्पियन बन्यो।

फाइनल खेलमा जनकपुरले पहिलो हाफमै २५–१९ को अग्रता लिएको थियो। दोस्रो हाफ निकै प्रतिस्पर्धात्मक बन्यो। सुरुवाती लय गुमाउँदै जनकपुरलाई काठमाडौंले ३४–३४ को बराबरीमा ल्याउँदै अग्रता समेत बनायो ।

तर, अन्तिम क्षणमा काठमाडौं दबाबमा परेपछि जनकपुरले आफ्नो पकड पुनः बलियो बनायो । दोस्रो हाफमा काठमाडौंले २२–२० को अग्रता लिए पनि जनकपुरले खेल आफ्नो पक्षमा पार्न सफल भएको छ ।

उपाधिसँगै जनकपुरले नगद ५ लाख रुपैयाँ तथा आकर्षक ट्रफी जित्यो भने उपविजेता काठमाडौंले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *