एमाले-माओवादी मिलेर शक्तिशाली नेकपा बन्दा विष्णु पौडेल महासचिव बन्दै गर्दा दोस्रो पुस्ताको उत्तराधिकारी उदय भएको ठानिएको थियो । एमाले-माओवादी एकता भत्किएसँगै पौडेलको महासचिव पद पनि गयो । ठिक यही विन्दुमा उदय भएको थियो ।
माओवादीसँग सहकार्यका लागि लिएका अथक अग्रसरताको प्रतिदान पाएका थिए, पौडेलले । उनलाई अध्यक्षहरु केपी ओली र पुष्पकमल दाहाल दुवैको विश्वास थियो । विष्णु पौडेललाई पछि पारेर शंकर पोखरेललाई महासचिव बनाउने विषय एमाले नेता पंक्तिका लागि केवल व्यक्तिगत परिघटना थिएन जेटका दुई पाइलटबीच दरार वा दिशाभ्रम हुँदा समन्वय गर्न पौडेलको खाँचो पर्थ्यो । ईश्वर पोखरेल, शंकर लगायत नेताहरु छायाँमा थिए ।
दुई कम्युनिस्ट पार्टीहरुबीच एकताको त्यो परीक्षण असफल भएपछि पौडेलको पनि उपादेयता सकिएको थियो । माओवादीलगायत साना दलको औचित्यमाथि प्रश्न उठाउँदै शंकर पोखरेलले बलियो राष्ट्रिय शक्तिको वकालत गरेका थिए । चुनावअघि यो पंक्तिकारसँग कुरा गर्दै उनले भनेका थिए, ‘माओवादीको औचित्य छैन। यो कांग्रेसको सहयोगी मात्रै हो, पार्टी होइन । देश अब कांग्रेस र एमाले रहेको दुई दलीय प्रणालीमा जानुपर्छ ।’
माओवादीको औचित्यमाथि प्रश्न उठाउँदै उदाएका पोखरेल माओवादीकै उम्मेदवार रेखा शर्मासँग पराजित हुन पुगेका छन् । आज बिहान सकिएको मत गणनामा उनी शर्माभन्दा १९७ मत पछि परे ।
एमालेलाई गणतन्त्र र संघीयताको बाटोमा लैजान शंकर पोखरेलले अघि सारेका तर्कहरु ६० को दशकमा चर्चामा रहे । मदन भण्डारीकै पालादेखि पोखरेल पार्टी संस्थापनको विश्वासपात्र रहँदै आए । वाक्पटुकताका कारण चर्चामा रहने पोखरेल पार्टी कार्यकर्ताहरुसँग घुलमिल हुनै नसक्ने बानीका कारण आन्तरिक स्पर्धामा भने पछि पर्ने गरेका छन् । यति हुँदाहुँदै पनि पार्टीभित्र बहुपदीय संरचनाको वकालत गर्ने केपी ओलीको नीतिलाई साथ दिएका कारण उनी बुटवलमा आयोजित आठौं महाधिवेशनबाट सचिव बन्न सकेका थिए
यो चुनाव नतिजाको एउटा रोचक पक्ष छ । प्रतिष्पर्धी कांग्रेसमा महाधिवेशनले चुनेका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा दुवै यो चुनावमा भारी मतले मतदाताबाट समेत अनुमोदित हुन पुगेका छन् । एमाले र माओवादीका अध्यक्षले छानेका महासचिवहरु शंकर पोखरेल र देव गुरुङ भने मतदाताबाट पराजित हुन पुगेका छन् ।
वरिष्ठ नेता ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल दुवै पराजित हुन पुग्दा पार्टीभित्र सन्नाटा छाएको छ