सामाजिक फीड-
माघ १६ गते – जनकपुरधाम
दक्षिण कोरियाको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार राति एअर बुसानको विमानमा अचानक आगलागी भएको छ। विमानमा १७६ जना (१६९ यात्रु र सात चालक दलका सदस्य) सवार थिए। तर, सौभाग्यवश कुनै ठूलो मानवीय क्षति भएको छैन।
दक्षिण कोरियाली यातायात मन्त्रालयका अनुसार बुसानबाट हङकङ उडान भर्न तयार विमानको पछिल्लो भागमा उडानअघि नै आगो लागेको थियो। आगलागी थाहा पाएलगत्तै चालक दलले सबैलाई स्लाइडको मद्दतले बाहिर निकाले। उद्धारका क्रममा तीन यात्रु सामान्य घाइते भएको बताइएको छ।
अहिलेसम्म आगलागीको कारण स्पष्ट भइसकेको छैन। एयरलाइन्स र स्थानीय अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्।
यस्तो घटना यो पहिलो भने होइन। गत वर्ष डिसेम्बरमा जेजु एअरको बोइङ ७३७–८०० विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डिङ गियर फेल हुँदा ठूलो दुर्घटना भएको थियो। त्यतिबेला १७९ यात्रुको मृत्यु भएको त्रासदी सम्झिँदा यो आगलागीमा कुनै मानवीय क्षति नहुनु राहतको खबर हो।