सामाजिक फीड-
माघ १३ गते – जनकपुरधाम ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र भारतबीचको सम्बन्ध साँचो मित्रता र साझेदारीमा आधारित रहेको बताएका छन्। भारतीय गणतन्त्र दिवसको ७६औँ वार्षिकोत्सवको अवसरमा भारतीय पेन्सन वितरण कार्यालय, पोखराद्वारा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले आपसी विश्वास, सम्मान र सहकार्यले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्ने विश्वास व्यक्त गरे।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशभित्र शिक्षा, स्वास्थ्य, धार्मिक र सांस्कृतिक क्षेत्रमा भारत सरकारबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्दै, भारतीय सेनामा यस प्रदेशका ठूलो संख्यामा रहेका सैनिकको योगदानको प्रशंसा गरे। उनले पेन्सन वितरण कार्यालयलाई यस क्षेत्रको महत्वपूर्ण संस्था भएको उल्लेख गरे।
दुई देशबीचको खुला सिमानाका कारण रोजगारी, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको सहयोग आदानप्रदानले आपसी निकटता थप मजबुत भएको उनको भनाइ थियो। साथै, नेपाल–भारतको ऐतिहासिक र सांस्कृतिक सम्बन्ध हजारौँ वर्ष पुरानो रहेको बताउँदै उनले रामायण र महाभारतजस्ता ग्रन्थमा समेत यस सम्बन्धको उल्लेख रहेको स्मरण गराए।
कार्यक्रममा भारतीय पेन्सन वितरण कार्यालय, पोखराका प्रमुख प्रशान्तसिंह बघेलले गोर्खाली सैनिकको बहादुरी र इमान्दारिताको प्रशंसा गर्दै, सैनिक परिवारका लागि कार्यालयले सेवा र सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएको जानकारी दिए। उनले सन् २०२४ मा कार्यालयले शिक्षा र स्वास्थ्यसम्बन्धी कल्याणकारी योजनामा सहयोग गरेको तथा गण्डकी प्रदेशका भूपू सैनिकहरूको लागि मात्र रु ३५ अर्ब बराबरको पेन्सन पठाइएको जानकारी गराए।
भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, र शौर्य ऊर्जालगायत क्षेत्रमा निरन्तर सहयोग गरिरहेको उनले बताए। कार्यक्रममा ‘जर्नल भुपू २०२५’ लोकार्पण गरिनुका साथै अमर गोर्खा सैनिकका सन्नतिलाई सम्मान र विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो।