समाजिक फिड –
जनकपुरधाम, माघ १३ l
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जानकारी दिएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली भए पनि अन्य स्थानमा मौसम मुख्यतया सफा छ। तर, तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित बनेको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा केही दिनदेखि लगातार हुस्सु र कुहिरो लागिरहेको छ। सप्तरी, झापा, मोरङ, र सुनसरीमा शीतलहरले जनजीवन थप प्रभावित बनाएको छ।
आज दिनभर कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ भने मधेश, कर्णाली, र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतया सफा रहनेछ।
आज राति कोशी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ। कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाले तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, यातायात, र हवाई उडानमा प्रभाव पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।