समाजिक फिड –
जनकपुरधाम, माघ १३
नेपाल-भारत खुला सिमाको विशेषता र यसको प्रभावलाई उजागर गर्न वरिष्ठ पत्रकार चन्द्रकिशोरको नेतृत्वमा नेपाल-भारत खुला सिमा संवाद समूहले सीमाक्षेत्रको अवलोकन गरेको छ। समूहका अध्यक्ष डा. राजीव झा, प्रवक्ता प्रमोद रंगी, बाल अभियानी आदित्य झा लगायतको टोलीले बिदेह नगरपालिका वार्ड नम्बर-२ दुहबीस्थित ऐतिहासिक दुर्गा मन्दिर र दुर्वासा ऋषिको गढको रूपमा परिचित दुर्वाशगढलगायतका स्थानहरूको निरीक्षण गरेका छन्।
अवलोकनका क्रममा दशगजामा देखिएका दृश्यहरूले नेपाल-भारत सम्बन्धको गहिरो भाइचारालाई प्रतिबिम्बित गरे। सीमाक्षेत्रमा युवाहरू क्रिकेट खेल्दै, आपसी सौहार्द साट्दै गरेको दृश्यले खुला सिमाको विशेष सम्बन्धलाई उजागर गर्यो। त्यस्तै, स्थानीय बासिन्दाको दैनिकीजस्तै घाम ताप्ने र जलावन सुकाउने गतिविधिहरूले पनि सीमाक्षेत्रको सौहार्दपूर्ण वातावरणलाई झल्काएको छ।
नेपाल-भारत खुला सिमाको प्रमुख विशेषता भनेकै यस क्षेत्रका किसान र परिवारहरूको साझा सम्बन्ध हो। धेरै किसानका खेतहरू दुई देशमा फैलिएका छन् भने परिवारका सदस्यहरू नेपाल र भारतका दुई किनारामा बसोबास गरिरहेका छन्। यो सम्बन्ध सिमाना निर्धारण हुनु अघि एउटै देशको इतिहाससँग जोडिएको मानिन्छ।
यो अवलोकन भ्रमणले खुला सिमाको सामाजिक, सांस्कृतिक, र आर्थिक महत्त्वलाई उजागर गर्दै नेपाल-भारतबीचको विशेष सम्बन्धलाई थप प्रगाढ बनाउन योगदान दिएको छ।