Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
माघ ११ गते – जनकपुरधाम

चर्चित फिल्म निर्माता तथा निर्देशक रामगोपाल वर्माको कानूनी समस्या थप जटिल बनेको छ। मुम्बईको अदालतले उनलाई चेक बाउन्स मुद्दामा तीन महिनाको जेल सजाय सुनाएको छ।

२०१८ मा दायर गरिएको यस मुद्दाको सात वर्षपछि अदालतले फैसला सुनाउँदै वर्मालाई गैर-जमानती वारेन्ट समेत जारी गरेको हो। तेलंगाना टुडेको रिपोर्ट अनुसार, वर्मालाई नेगोसिएबल इन्स्ट्रुमेन्ट एक्टको धारा १३८ अन्तर्गत दोषी ठहर गरिएको छ।

अदालतको निर्णय अनुसार वर्माले तीन महिनाको जेल सजाय भोग्नुका साथै उजुरीकर्तालाई तीन लाख ७५ हजार क्षतिपूर्ति तिर्नुपर्नेछ। यदि उनले यो रकम तीन महिनाभित्र नतिरे, थप तीन महिना जेल सजाय हुने अदालतले चेतावनी दिएको छ।

यस विषयमा रामगोपाल वर्माले आफ्नो प्रतिक्रिया सामाजिक सञ्जाल एक्समा दिएका छन्। उनले भनेका छन्, “मेरो र अंधेरी अदालतसँग सम्बन्धित समाचारको सन्दर्भमा म स्पष्ट पार्न चाहन्छु कि यो मेरो पूर्व कर्मचारीसँग सम्बन्धित २ लाख ३८ हजार रुपैयाँको ७ वर्ष पुरानो मुद्दा हो। मेरा वकिलहरू यसमा संलग्न छन् र मुद्दा अदालतमा भएकाले म थप केही भन्न सक्दिन।”

दोस्रो पोस्टमा वर्माले लेखेका छन्, “यो २.३८ लाख रुपैयाँको सम्झौतामा आधारित विवाद होइन। यो शोषणको प्रयास अस्वीकार गर्ने विषयमा विवाद हो। अहिलेका लागि म यत्ति मात्र भन्न सक्छु।”

चेक बाउन्स मुद्दा २०१८ मा श्री नामको कम्पनीले वर्माको फर्मविरुद्ध दायर गरेको थियो। यस मुद्दामा सन् २०२२ मा वर्माले व्यक्तिगत धरौटी र ५ हजार रुपैयाँ बुझाएर जमानत पाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *