सामाजिक फीड-
माघ ११ गते – जनकपुरधाम ।
पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ठगीसम्बन्धी थुनछेक बहस आज (शुक्रबार) रूपन्देही जिल्ला अदालतमा पुनः सुरू भएको छ।
बिहीबार सरकारी वकिलको बहस सकिए पनि पीडित पक्षका दुई वकिलको बहस बाँकी रहेकाले आज पुनः अदालतमा बहस सुरु भएको हो। बुधबार पहिलो पटक रूपन्देही जिल्ला अदालतमा उपस्थित भएका लामिछाने हाजिरी जमानीमा रिहा भएका थिए।
सुप्रिम सहकारीमा बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना भएको आरोपमा २८ जनाविरुद्ध मुद्दा दायर भएको छ। रवि लामिछानेलाई भने पुरक उजुरीमार्फत मुद्दामा समावेश गरिएको हो।
प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ रवि लामिछानेको नाममा ऋण रहेको तथ्य फेला पारेपछि उनीमाथि उजुरी गरिएको हो।
यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर रिहा भएका लामिछानेले बुटवलपछि चितवन र पर्साका अदालतमा पनि बयान दिन बाँकी रहेको छ। यी जिल्लाहरूबाट पक्राउ पुर्जी जारी भएपछि उनले दुवै जिल्लामा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन्।
रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मामा लामिछानेलाई छोडेको थियो। अब बाँकी बहसपछि मुद्दाको अन्तिम टुंगो लाग्ने अपेक्षा गरिएको छ।