Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
माघ १० गते – जनकपुरधाम

अमेरिकामा टिकटक प्रतिबन्धसँग सम्बन्धित रोचक घटनाहरू भइरहेका छन्। केही दिनअघि टिकटकलाई १४ घण्टाका लागि प्रतिबन्ध लगाइएपछि एपलाई एप्पल र गुगल प्ले स्टोरबाट हटाइएको थियो। तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्धको अवधि ७५ दिनसम्म लम्ब्याएपछि आइतबारदेखि टिकटक पुनः सञ्चालनमा आएको छ।

तर, एप स्टोरमा अनुपलब्ध भए पनि मोबाइलमा पहिल्यै डाउनलोड भइसकेका टिकटक सामान्य रूपमा चलिरहेका छन्। टिकटक अझै एप्पल र गुगल प्ले स्टोरमा उपलब्ध नभएपछि, यस अवसरको फाइदा उठाउँदै केही व्यक्तिहरूले टिकटक डाउनलोड भएका आईफोनहरू महँगो मूल्यमा बिक्री गर्न थालेका छन्।

ई-बेमा टिकटक भएका आईफोन महँगो मूल्यमा बिक्री

टिकटक प्रतिबन्धको अवस्थामा, ई-कमर्स प्लेटफर्म ई-बेमा टिकटक डाउनलोड भएका आईफोनहरू हजारौँ डलरमा बिक्रीका लागि राखिएको छ। केही व्यक्तिहरूले प्रतिबन्धको समयमा एप हटाइएका वा नयाँ डाउनलोड गर्न असमर्थ रहेका प्रयोगकर्ताहरूलाई लक्षित गर्दै उच्च मूल्यमा आईफोन बेच्न खोजेका छन्।

आईफोन मोडेलअनुसार मूल्य ५०० डलरदेखि २५ हजार डलरसम्म तोकिएको छ। ई-बे प्रयोगकर्ता रस्किनले टिकटक डाउनलोड भएको आईफोन प्रो म्याक्सलाई १० हजार डलरमा बिक्री गर्न खोजेकी छिन्, जसमा २४ घण्टाभित्र १,८०० भन्दा धेरैले चासो देखाएका छन्।

यद्यपि, यी आईफोनहरू साँच्चै बिक्री भएका छन् वा छैनन् भन्ने पुष्टि हुन सकेको छैन। तथापि, लिलामीमा दुई हजारभन्दा बढी आईफोनहरू देखिएका छन्। उत्तरी क्यारोलिनाका एक विक्रेताले टिकटक र क्यापकट डाउनलोड भएको १२८ गिगाबाइट क्षमताको आईफोन १५ प्रो ४५ लाख डलर (६२ करोड रुपैयाँ बढी) मा बिक्रीका लागि राखेका छन्।

टिकटकको भविष्य: पुनः स्टोरमा फर्किने सम्भावना

हालसम्म टिकटक एप एप्पल र गुगल प्ले स्टोरमा कहिले फर्किने भन्ने स्पष्ट भएको छैन। राष्ट्रपति ट्रम्पले टिकटकको ५० प्रतिशत लगानी अमेरिकी कम्पनीको हुनुपर्ने प्रस्ताव अघि सारेका छन्। उनले टेस्ला र स्पेसएक्सका सीईओ एलोन मस्क तथा ओरेकलका सह-संस्थापक ल्यारी एलिसन टिकटक किन्न इच्छुक रहेको बताएका छन्।

यदि अमेरिकी नागरिक वा कम्पनीले टिकटक खरिद गरेमा, एपलाई पुनः एप्पल र गुगल प्ले स्टोरमा उपलब्ध गराइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *