सामाजिक फीड-
जनकपुरधाम, माघ ९ गते ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार सुरक्षा जाँचका क्रममा १६ किलो शंकास्पद वस्तुसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिले हङकङ जान क्याथे प्यासिफिक एयरलाइन्सको उडान लिन लागेका थिए।
विमानस्थल सुरक्षामा खटिएका अधिकारीहरूका अनुसार सुटकेसमा भेटिएको उक्त वस्तु लागूऔषध भएको शंका गरिएको छ। पक्राउ परेका चिनियाँ नागरिकले सो वस्तु के हो भन्ने खुलाउन अस्वीकार गरे पनि उनलाई केरकार गरिएको छ।
विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले शंकास्पद वस्तु लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) लाई बुझाइएको पुष्टि गरे। ब्यूरोले उक्त वस्तु परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको छ।
ब्यूरोका प्रवक्ता रामेश्वर कार्कीले परीक्षण नतिजा आएपछि थप विवरण सार्वजनिक गरिने जानकारी दिए। प्रारम्भिक अनुसन्धानमा, पक्राउ परेका नागरिकले आफूलाई कसैले निश्चित रकम दिने गरी उक्त सामान लैजान भनेको र आफूलाई त्यहाँ लागूऔषध रहेको थाहा नभएको दाबी गरेका छन्।प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ।